सुदूरपश्चिम प्रदेशसभा : बजेटप्रति सत्तापक्षकै सदस्यको असन्तुष्टि « प्रशासन
Logo १६ बैशाख २०८१, आइतबार
   

सुदूरपश्चिम प्रदेशसभा : बजेटप्रति सत्तापक्षकै सदस्यको असन्तुष्टि


२८ असार २०८०, बिहिबार


काठमाडौँ ।  सुदूरपश्चिम प्रदेश सभाको बैठकमा सरकारको आगामी आर्थिक वर्ष २०८०/८१ को बजेटमाथिको छलफलमा सत्तापक्षकै सदस्यले असन्तुष्टि व्यक्त गरेका छन् ।

प्रदेश सभाको आजको बैठकमा भाग लिने सत्ता पक्षीय प्रदेशसभा सदस्यले सरकारले लिएको नीति विपरीत वास्तविकता र यथार्तपरकभन्दा फरक ढङ्गले बजेट ल्याइएको भन्दै यस्तो ढङ्गको बजेटबाट न्यायपूर्ण एवं समतामूलक समाज निर्माण गर्न नसकिने बताए । उनीहरूले मन्त्रालयहरूका संरचनाको मर्मत र विभिन्न सुविधा थप्ने शीर्षकमा अनावश्यकरूपले बजेट छुट्याइएको भन्दै प्रदेशसभाका सदस्यले दिएको सुझावका आधारमा बजेट कार्यक्रममा विकासका योजना समेट्न ध्यानाकर्षण गराए ।

प्रतिपक्षी दलका सदस्यले सीमित नेता र मन्त्रीको निर्वाचन क्षेत्रमा मात्र केन्द्रित गरेर बजेट आएको भन्दै यो बजेट कार्यक्रम दिशाहीन र गन्तव्यहीन भएको आरोप लगाए । बजेटमाथिको छलफलमा सत्ता पक्षीय सदस्यहरू मेघराज खड्का, शिवसिंह ओली, प्रकाश रावल, प्रकाशबहादुर बम, तुल्सी देवकोटा, खुशीराम डगौरा थारू, लक्ष्मी विक, जानकीदेवी कुँवर र सरस्वती खड्का थिए ।

यसैगरी प्रतिपक्षी दलका धर्मराज पाठक, वीरबहादुर थापा, चक्रबहादुर मल्लले पनि छलफलमा भाग लिनुभएको थियो । बैठकमा सभामुख भीमबहादुर भण्डारीले प्रदेशसभा कार्यव्यवस्था परामर्श समितिमा मनोनयन गरिएका प्रदेशसभा सदस्यको नाम बाचन गरेका थिए । प्रदेशसभामा आगामी आर्थिक वर्षको बजेट कार्यक्रममाथिको छलफल जारी छ ।

Tags :
प्रतिक्रिया दिनुहोस