बल्छी ध्रुवे, राजु मास्टर सहितका कलाकारलाई धरौटीमा छाड्न आदेश « प्रशासन
Logo १९ बैशाख २०८१, बुधबार
   

बल्छी ध्रुवे, राजु मास्टर सहितका कलाकारलाई धरौटीमा छाड्न आदेश


२७ असार २०८०, बुधबार


काठमाडौँ । अनलाइन सट्टेबाजी गराउने वेबसाइट वान एक्स बेटको प्रचार गरेको आरोपमा पक्राउ परेका कलाकार मरिचमान श्रेष्ठ (बल्छी धुर्वे), राजु पौडेल (राजु मास्टर) सहितका कलाकारलाई ५ हजार रुपैयाँ धरौटीमा छाड्न अदालतले आदेश दिएको छ ।

जिल्ला अदालत, काठमाडौँले सट्टेबाजीको प्रचार गरेको अभियोगमा पक्राउ परेका उनीहरूलाई धरौटीमा छाड्न आदेश दिएसँगै कलाकारहरुलाई छाडिएको जिल्ला प्रहरी कार्यालय, काठमाडौँका एसपी सीताराम रिजालले बताए ।

प्रहरीको उपत्यका अपराध अनुसन्धान कार्यालय, बानेश्वरले सट्टेबाजी गराउने वेवसाइटको प्रचारमा संलग्न रहेको आरोपमा बल्छी ध्रुवे र राजुमास्टरसँगै जलन घर्तीमगर, अलिश राई गणेश देवकोटा, बेगम नेपाली, रोशन खतिवडा र सरोज घिमिरेलाई पनि पक्राउ गरेको थियो । उनीहरूलाई विज्ञापन नियमन गर्ने ऐन २०७६ को दफा ५ को उपदफा २ (ढ) र दफा २५ को उपदफा १ बमोजिम कसुर गरेको अभियोग छ ।

उक्त अभियोग अनुसार उनीहरूलाई विज्ञापन नियमन ऐनकै दफा २५ को उपदफा २ अनुसार सजाय माग गरिएको छ । जसमा एक वर्षसम्म कैद र १० हजार रुपैयाँसम्म जरिवाना हुने  व्यवस्था छ ।

सट्टेबाजी गराउने एजेन्ट भनिएका दिनेश खड्का र अनिता धिताललाई चाहिँ १० लाख रुपैयाँ धरौटी अदालतले मागेको छ । यो प्रकरणमा संलग्न कुशल पोखरेल फरार छन् ।

जिल्ला सरकारी वकिल कार्यालयले दिनेश खड्का र अनिता धितालले नेपाल राष्ट्र बैंक ऐन २०५८ को दफा ९५ को उपदफा १ र २ बमोजिम कसुर गरेको भन्दै ६४ करोड ९४ लाख २९ हजार ८२० रुपैयाँ बिगो मागदाबी गरेको थियो ।

Tags :
प्रतिक्रिया दिनुहोस