कर्मचारीमाथि हातपात गर्ने वडाध्यक्षका छोरा प्रहरी नियन्त्रणमा « प्रशासन
Logo १९ बैशाख २०८१, बुधबार
   

कर्मचारीमाथि हातपात गर्ने वडाध्यक्षका छोरा प्रहरी नियन्त्रणमा


२२ असार २०८०, शुक्रबार


काठमाडौँ । बाजुराको बुढीगंगा नगरपालिका-७ का वडाध्यक्ष भुवनसिंह केसीका छोरा दिलीप केसीलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

बिहीबार योजनाको भुक्तानीबारे विवाद हुँदा कर्मचारीमाथि हातपात र गालीगलौज गरेको आरोपमा प्रहरीले केसीलाई नियन्त्रणमा लिएको हो।

प्रमुख प्रशासकीय अधिकृत नरेन्द्र नाथका अनुसार केसीले बिहीबार दिउँसो नगरपालिकामा नाथसहित र इन्जिनियर उपेन्द्र साउदलगायतका कर्मचारीमाथि हातपात तथा गालीगलौज गरेका हुन् । केसीले सुरु नै नभएको योजनाको भुक्तानी दिनुपर्ने, योजनाको स्टमेट परिवर्तन गरिदिनु पर्ने भनेपछि विवाद भएको प्रमुख प्रशासकीय अधिकृत नाथले बताए ।

प्रमुख प्रशासकीय अधिकृत नाथले प्रशासनसँग भने, योजनाको काम नै भएको छैन, तर बिल उठाएर पूरै भुक्तानी दिनुपर्ने भनेपछि हामीले हुँदैन भन्यौँ, ‘उनले थपे, सरकारले नै २४ पछि भुक्तानी नदिनु भनेर परिपत्र गरिसकेको छ ।’ ‘अर्को एक अर्को योजनाको पनि स्टमेट चेन्ज गरिदिनु पर्‍यो भनेर उहाँले दबाब दिनुभयो, हामीले नमानेपछि केसीले कर्मचारीमाथि हातपात र गालीगलौज गरे,’ प्रमुख प्रशासकीय अधिकृत नाथको भनाई छ ।

यता जिल्ला प्रहरी कार्यालय बाजुराका प्रमुख (डिएसपी) कवीन्द्र बोहराका अनुसार केसीलाई नियन्त्रणमा लिइएको छ । कर्मचारी र केसीबीच दोहोरो गालीगलौज मात्रै भएको केसीको भनाई छ ।

उनले भने, ‘हातपात भएको छैन, गालीगलौज चाहिँ भएको देखिन्छ त्यो पनि दोहोरो भाछ ।’ ‘हामीले एक जनालाई नियन्त्रणमा लिएका छौ, अनुसन्धान हुदैछ,‘उनको भनाई छ ।

कर्मचारीमाथि हातपात र गालीगलौज गरेको भन्दै नेपाल निजामती कर्मचारी सङ्गठन बाजुराले विज्ञप्ति जारी गर्दै कर्मचारीमाथि हातपात गर्नेमाथि कारबाही गर्न माग गरेको छ।

Tags :
प्रतिक्रिया दिनुहोस