संसदमा प्रधानमन्त्रीलाई जवाफ दिने वातावरण बनाऔँ : राष्ट्रिय सभा अध्यक्ष « प्रशासन
Logo २ जेष्ठ २०८१, बुधबार
   

संसदमा प्रधानमन्त्रीलाई जवाफ दिने वातावरण बनाऔँ : राष्ट्रिय सभा अध्यक्ष


२२ असार २०८०, शुक्रबार


काठमाडौँ । राष्ट्रिय सभाका अध्यक्ष गणेश प्रसाद तिमिल्सिनाले संसदमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई जवाफ दिने वातावरण बनाउन प्रमुख प्रतिपक्षी दल नेकपा एमालेलाई आग्रह गरेका छन् ।

प्रधानमन्त्री प्रचण्डको अभिव्यक्तिको विरोधमा एमालेले बैठकमा अवरोध जारी राखेपछि अध्यक्ष तिमिल्सिनाले उक्त आग्रह गरेका हुन् ।

शुक्रबार बसेको राष्ट्रिय सभाको बैठकमा सुरुमै एमालेले उठेर विरोध गर्‍यो । त्यसपछि अध्यक्ष तिमिल्सनाले एमाले सांसद विमला घिमिरेलाई बोल्न समय दिए । एमाले सांसद घिमिरेले प्रधानमन्त्रीले राजीनामा नदिएसम्म संसदको कार्यसूची अगाडि नबढाउन आग्रह गरिन् । साथै उनले प्रश्न गरिन्, ‘नेपालको प्रधानमन्त्री नेपालले बनाउँछ कि दिल्लीले ?’

त्यसपछि राष्ट्रिय सभाका अध्यक्ष तिमिल्सनाले एमालेले गरेको प्रश्न प्रधानमन्त्रीलाई भएको हुन सक्ने भन्दै जवाफका लागि वातावरण बनाउन आवश्यक रहेको बताए । ‘एउटा जिज्ञासा सोध्न चाहन्छु भन्नुभएको छ । सायद प्रधानमन्त्रीलाई नै त्यो प्रश्न होला’ अध्यक्ष तिमिल्सिनाले भने, ‘नेपालको सरकार नेपालले बनाउँछ कि बाहिरबाट भनेर सोध्नुभएको छ । यसको उत्तर दिन पनि प्रधानमन्त्रीले यहाँ बोल्ने वातावरण बनाउनुपर्छ । यस्ता जिज्ञासाहरू प्रश्नहरूको बारेमा प्रधानमन्त्रीलाई जवाफ दिने वातावरण बनाऔँ ।’

Tags :
प्रतिक्रिया दिनुहोस