मुद्दा फिर्ता लिने सरकारको निर्णय विरुद्ध सर्वोच्च पुगे उपप्राध्यापक चलाउने  « प्रशासन
Logo २ जेष्ठ २०८१, बुधबार
   

मुद्दा फिर्ता लिने सरकारको निर्णय विरुद्ध सर्वोच्च पुगे उपप्राध्यापक चलाउने 


६ असार २०८०, बुधबार


काठमाडौँ । आफूमाथि आक्रमण गर्नेहरुविरुद्धको मुद्दा फिर्ता लिने सरकारको निर्णय विरुद्ध त्रिभुवन विश्वविद्यालयका उपप्राध्यापक प्रेम चलाउने सर्वोच्च अदालत गएका छन् ।

मुद्दा फिर्ता लिने सरकारको निर्णय कानुनसम्मत नभएको र अपराधीलाई संरक्षण गर्ने प्रकृतिको रहेको भन्दै उनी सरकारको निर्णय बदर गर्न माग गर्दै रिट लिएर सर्वोच्च पुगेका हुन् । उनको रिट दर्ता भने भइसकेको छैन ।

समाजशास्त्र विभागका उपप्राध्यापक चलाउनेमाथि २० असोज २०७७ मा त्रिभुवन विश्वविद्यालय केन्द्रीय क्याम्पस परिसरमा नै साङ्घातिक आक्रमण भएको थियो ।

उक्त घटनामा नेपाल विद्यार्थी सङ्घ त्रिवि इकाइ समितिका तत्कालीन सभापति हरि आचार्य, महासचिव योगेन्द्र रावललगायत विरुद्ध काठमाडौँ जिल्ला अदालतमा ज्यानसम्बन्धी मुद्दा दायर भएको थियो ।

हालै कानुन मन्त्रालयको प्रस्तावमा मन्त्रिपरिषद् बैठकले चलाउनेमाथि आक्रमण गर्नेहरुविरुद्ध मुद्दा फिर्ता लिने निर्णय गरेको छ र उक्त निर्णय जिल्ला सरकारी वकिल कार्यालय हुँदै जिल्ला अदालत काठमाडौँमा पेस भएको छ ।

बुधबार पेस भएको निवेदन पेशीमा नचढेका कारण न्यायाधीशले सुनुवाइ गर्न अस्वीकार गरी अर्को दिन पेशी तोक्न आदेश गरेका थिए ।

उपप्राध्यापक चलाउनेले मुद्दा फिर्ताको निर्णय तत्काल बदर नगरे अर्थहीन हुने भन्दै सरकारी वकिलको कार्यालय, काठमाडौँले जिल्ला अदालतमा पेस गरेको निवेदनको सुनुवाइ रोक्न अन्तरिम आदेश माग गरेका छन् ।

विश्वविद्यालय हाताभित्र आफूमाथि मरणासन्न हुनेगरी आक्रमण भएको, त्यो आक्रमणमा संलग्नहरूमाथि मुद्दा चलेको अवस्थामा सरकारले राजनीतिक संरक्षणका आधारमा आरोपितहरूलाई जोगाउन नहुने रिट निवेदनमा उनको दाबी छ ।

चलाउनेले रिट निवेदनमा मुद्दा फिर्ता लिने सबै प्रक्रिया रोक्न माग गरेका छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस