काठमाडौँ । नेकपा (एमाले)ले अवरोध गरेपछि संसद् बैठक स्थगित भएको छ । सभामुख देवराज घिमिरेले २० मिनेटका लागि बैठक स्थगन भएको जानकारी दिए ।
शुक्रबारको प्रतिनिधि सभा बैठकमा नेकपा (माओवादी केन्द्र)का सांसद लेखनाथ न्यौपानेले माफी नमागेसम्म संसद् चल्न नदिने भन्दै एमालेले संसद् बैठकमा विरोध जनाएको हो ।
जेठ १० गतेको संसद्मा न्यौपानेले पशुपतिनाथको मन्दिरमा सुनको जलप लगाउन पर्नेमा पित्तलको लगाएर भ्रष्टाचार गरेको आरोप लगाएको भन्दै दिएको अभिव्यक्तिप्रति एमालेले संसदमा विरोध गरिरहेको छ । उसले बेल घेरेर नाराबाजी गरेको छ ।
पार्टी अध्यक्ष केपी शर्मा ओलीमाथि भ्रष्टाचार गरेको आरोप लगाएको भन्दै त्यसबारे टुङ्गोमा नपुगेसम्म बैठक चल्न नदिने चेतावनी दिएको छ ।