मन्त्री र सांसदहरूले काठमाडौँमा घरजग्गा खरिद गर्न नपाउने व्यवस्था गर्न माग  « प्रशासन
Logo ६ बैशाख २०८१, बिहिबार
   

मन्त्री र सांसदहरूले काठमाडौँमा घरजग्गा खरिद गर्न नपाउने व्यवस्था गर्न माग 


१० फाल्गुन २०७९, बुधबार


काठमाडौँ । नेपाल मजदुर किसान पार्टीका सांसद प्रेम सुवालले प्रधानमन्त्री, मन्त्री र सांसदहरूले काठमाडौँ उपत्यकामा घरजग्गा खरिद गर्न नपाउने गरी कानुनी व्यवस्था गर्नुपर्ने प्रस्ताव गरेका छन् । 

प्रतिनिधि सभा बैठकमा विशेष समय लिएर बोल्दै सांसद सुवालले देशको सन्तुलित विकास र काठमाडौँ उपत्यकामा आउने विपद् व्यवस्थापनका लागि पनि प्रधानमन्त्री, मन्त्री, सांसदसहित नेपाल सरकारका उच्च अधिकारीहरूले काठमाडौँ उपत्यकामा घरजग्गा खरिद गर्न नपाउने कानुनी व्यवस्था गर्नुपर्ने तर्क अघि सारेका हुन्। 

काठमाडौँ उपत्यकाका विभिन्न ठाउँमा डोजर लगाएर जथाभाबी भत्काउने गरिएकोमा आपत्ति जनाउँदै उनले त्यसले ठुलो विपद् ल्याउनेतर्फ पनि सरकार र सम्बन्धित निकायको गम्भीर ध्यानाकर्षण गराए । 

सांसद सुवालले भने, ‘काठमाडौँ उपत्यका विकास प्राधिकरण अभिलम्ब खारेज गर्न आवश्यक छ । ललितपुरको सुनाकोठी-ठेचो र चापागाउँका पुरानो बस्ती भत्काएर सडक विस्तार गरिएकोमा जनताको विरोध छ । काठमाडौँमा घर भत्काएर सडक चौडा गरिँदैमा सडक जाम हट्ने छैन । पहिरोलगायत विपत्तिबाट सडक अवरोध भएमा काठमाडौँ उपत्यकामा खाद्यान्न आपूर्ति अवरुद्ध हुने र यहाँका जनता भोक भोकै मर्नुपर्ने अवस्था छ । २०७२ सालको जस्तो ठुलो भूकम्प काठमाडौँमा गएमा भाग्ने ठाउँ नभएर यहाँका लाखौँ जनताको मृत्यु हुने अवस्था छ । यसकारण प्रधानमन्त्री, मन्त्री, सांसद र सरकारका उच्च अधिकारीहरूले आ–आफ्नो निर्वाचन क्षेत्रमा बजार विकास गरी स्थानीय जनतासँगै घर बनाएर बस्नुपर्ने, काठमाडौँ उपत्यकामा घरजग्गा किन्न नपाउने र देशको सन्तुलित विकास गर्ने कानुन बनाउन जरुरी छ ।’

Tags :
प्रतिक्रिया दिनुहोस