जग्गाको स्वामित्व बाँडफाँट प्रक्रिया सुरु « प्रशासन
Logo १५ बैशाख २०८१, शनिबार
   

जग्गाको स्वामित्व बाँडफाँट प्रक्रिया सुरु


७ फाल्गुन २०७९, आइतबार


काठमाडौँ । नुवाकोटमा मोही लागेको जग्गाको जग्गाधनी र मोहिबीच जग्गा बाँडफाँटको प्रक्रिया सुरु भएको छ । त्यसका लागि मोहीसँग निवेदन सङ्कलन सुरु गरिएको मालपोत कार्यालयका प्रमुख अधिकृत होमनाथ सेढाईंले जानकारी दिए ।

उनका अनुसार व्यक्तिका नाममा रहेको (रैकर) जग्गामा लागेको मोही अन्त्य गर्न जग्गाको सम्बन्धित जग्गाधनी र मोहीलाई बराबर हुने गरेर बाँडफाँट गर्न सूचना जारी गरेर निवेदन सङ्कलन थालिएको छ । जग्गामा रहेको द्वैध (दोहोरो) स्वामित्व अन्त्यका लागि सुरु भएको निवेदन सङ्कलन वि.सं २०८२ चैत मसान्तलाई अन्तिम म्याद दिइएको छ ।

जग्गाधनी र मोहीले जग्गामा रहेको द्वैध स्वामित्व अन्त्य गर्ने सरकारको लक्ष्य र जग्गामा रहेको दोहोरो स्वामित्व हटाउने कार्य मोही किसानका लागि महत्त्वपूर्ण अवसरका रूपमा लिइएको छ ।

प्राप्त निवेदनको कारबाही अघि बढाउँदै लागिने मालपोत कार्यालयले जनाएको छ । अन्तिम म्याद वि.सं २०८२ चैत मसान्तसम्म तोकिएकाले उक्त अवधिसम्म प्राप्त निवेदनको वि.सं २०८३ असार मसान्तसम्म टुङ्ग्याउनुपर्ने कानुनमा भनिएको छ । उक्त लक्ष्य पूरा भएपछि जमिनमा मोहियानी हक लाग्ने व्यवस्था अन्त्य गरिने सरकारको लक्ष्य छ ।

जग्गा जमिनमा मोहियानी हक लाग्ने व्यवस्था वि.सं २०८३ असार मसान्तपछि खारेज गर्ने लक्ष्यअनुसार रैकर जग्गामा लागेको दोहोरो स्वामित्वअनुसार जग्गाधनी र मोहीलाई बराबर जग्गा बाँडफाँटका लागि दाबी पेस गर्न कार्यालयले जारी गरेको सूचनामा भनिएको छ । 

अर्कैको नाममा रहेको जग्गामा लामो समयदेखि खेती गर्दै आएका विपन्न तथा आर्थिक अवस्था कमजोर भएका किसानका लागि न्याय दिन कानूनअनुसार यसअघि नै मोही कायम गरिएको थियो । सोही जग्गालाई सम्बन्धित जग्गाधनी र खेती गर्ने किसानलाई बराबर हुने गरेर बाँडफाँट गराउन लागिएको हो ।

Tags :
प्रतिक्रिया दिनुहोस