रविलाई पुनः गृहमन्त्री बनाउन एमालेको दबाब छैन : पूर्व मन्त्री तामाङ « प्रशासन
Logo ११ बैशाख २०८१, मंगलबार
   

रविलाई पुनः गृहमन्त्री बनाउन एमालेको दबाब छैन : पूर्व मन्त्री तामाङ


१६ माघ २०७९, सोमबार


काठमाडौँ । नेकपा (एमाले) एमालेका नेता तथा पूर्व मन्त्री शेरबहादुर तामाङले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रबी लामिछानेलाई पुनः गृहमन्त्री बनाउन एमालेको कुनै दबाब नरहेको दाबी गरेका छन् ।

यद्यपि चितवन–२ मा उपनिर्वाचन हुँदै गर्दा रबिलाई सत्ता गठबन्धन दलले सहयोग गर्ने उनको भनाइ छ । सोमबार राजधानीमा आयोजित कार्यक्रममा उनले रबिको नागरिकता विवादसँगै रहेको राहदानी विवादमा पनि कानुनबमोजिम छानबिन हुन आवश्यक रहेको औँल्याए । कुनै व्यक्तिमाथि कानूनरु रूपमा प्रश्न उठेपछि निष्पक्ष रूपमा छानबिन हुनुपर्ने तामाङले बताए ।

उनले भने, ‘प्रश्न उठेपछि सबै मान्छे कानुनी प्रक्रियामा जानुपर्छ । सबै प्रक्रियाबाट उहाँ गुज्रिनुहुन्छ ।’ उनले गत मंसिर ४ को निर्वाचनको परिणामले छ महिनामै मध्यावधि निर्वाचनको अवस्था सिर्जना गरेपछि आफूहरू सरकारमा जानुपरेको पनि जिकिर गरे ।

उनले आफूहरूले गठबन्धन बनाएर निर्वाचनमा गएका दलहरुलाई जनताले सरकार सञ्चालनको म्यान्डेट नदिएपछि एमालेले सरकार गठनको पहल गरेको बताए ।

‘नेपाली काँग्रेस र माओवादी केन्द्र अरु दलसहित चुनावमा गएका थिए । सरकार गठनको तयारी पनि गर्नुभएको थियो, उहाँहरूले एमालेलाई हराउने कोसिस पनि गर्नुभएको थियो । तर, जनताले म्यान्डेट नदिएपछि र छ महिनाभित्र नै मध्यावधि निर्वाचन हुने स्थिति देखापरेपछि हामीले सरकार गठनको प्रयास गर्‍यौँ । हाम्रो प्रयास सफल पनि भयो,’ उनले भने ।

Tags :
प्रतिक्रिया दिनुहोस