गृहमन्त्रीको निर्देशन : ‘आवाज विहीनको आवाज सुन्नुस्, जागिर खाए जसरी होइन, हाइ स्पिरिडमा काम गर्नुस्’ « प्रशासन
Logo ७ बैशाख २०८१, शुक्रबार
   

गृहमन्त्रीको निर्देशन : ‘आवाज विहीनको आवाज सुन्नुस्, जागिर खाए जसरी होइन, हाइ स्पिरिडमा काम गर्नुस्’


१८ पुस २०७९, सोमबार


काठमाडौँ । गृहमन्त्री रवि लामिछानेले देशभरका प्रमुख जिल्ला अधिकारीहरूलाई भर्चुअल बैठक राखेर निर्देशन दिएका छन् ।

गृह मन्त्रालयबाट भर्चुअल सम्बोधन गरेका गृहमन्त्री लामिछानेले प्रमुख जिल्ला अधिकारीहरूलाई सुशासन प्रत्याभूत हुने गरी र नागरिकमा आशा जगाउने गरी काम गर्न निर्देश गरेका हुन् ।

‘आवाज विहीनहरूको आवाज सुन्नुस्’ ७७ जिल्लाका प्रजिअहरुलाई उनले भने, ‘जिल्ला प्रशासन कार्यालय र प्रहरी कार्यालयबाट सेवा प्रवाह गर्दा राजनीतिक प्रभाव कहीँ कतै पनि देखिनुहुँदैन ।’

भर्चुअल बैठकमा जिल्ला स्थित सुरक्षा निकायका प्रमुखहरू पनि सहभागी थिए । आर्थिक अनुशासनमा शून्य सहनशीलता पालना गर्न निर्देशन दिँदै गृहमन्त्रीले बैठकमा भने,‘तराईका जिल्लामा राजस्व चुहावटलाई प्राथमिकताका साथ कडाइ गर्नुस् ।’

मन्त्री लामिछानेले तिब्र गतिमा काम गर्न आग्रह गर्दै भनेका छन्–‘जागिर खाए जसरी होइन, हाइ स्पिरिडका साथमा काम गर्नुस् ।’ न्यायमा सबै जनताको पहुँच हुनुपर्ने उल्लेख गर्दै लामिछानेले भनेका छन्–‘नागरिकले न्यायका लागी अन्यत्र भौतारिन नपरोस्, इमान्दारिता र पारदर्शितामा ध्यान दिनुहोला ।’

लामिछानेले तराइका जिल्लाका मिटरब्याजीलाई कानुनी दायरामा ल्याउन पनि निर्देशन दिएका छन् । त्यस्तै शीतलहरूको समस्या न्यूनीकरण गर्न चुस्त योजनाका साथ अघि बढ्न उनले सुरक्षा प्रमुखहरू र प्रजिअहरुलाई निर्देशन दिए ।

Tags :
प्रतिक्रिया दिनुहोस