विश्वकप फाइनल : आज पाकिस्तान र इंग्ल्यान्ड भिड्दै « प्रशासन
Logo १५ बैशाख २०८१, शनिबार
   

विश्वकप फाइनल : आज पाकिस्तान र इंग्ल्यान्ड भिड्दै


२७ कार्तिक २०७९, आइतबार


काठमाडौँ । पाकिस्तान र इंग्ल्यान्डबिच आइतबार (आज) टी-२० विश्वकपको फाइनलमा प्रतिस्पर्धा हुँदै छ ।

जारी विश्वकपमा इंग्ल्यान्डको ब्याटिङ निकै चलेको छ । टोलीमा एकसेएक स्टार ब्याट्सम्यान छन् । त्यसमध्ये पनि ओपनरद्वय जोस बटलर र एलेक्स हेल्स निकै फर्ममा छन् ।

उनीहरूले मिलेर प्रतियोगितामा पाँच सय १० रन बनाइसकेका छन् । उनीहरूले एक सय ७० रनको साझेदारी गर्दा सेमिफाइनलमा भारतलाई १० विकेटले हराएर इंग्ल्यान्डले फाइनल यात्रा तय गरेको थियो । इंग्लिस टोलीमा नवौँ नम्बरमा क्रिस बोक्स ब्याटिङ गर्न आउँछन्, जो अलराउन्डर हुन् ।

यता, समूह चरणमा चल्न नसकेको पाकिस्तानको ओपनिङ जोडीले सेमिफाइनलमा न्युजिल्यान्डविरुद्ध भने उत्कृष्ट खेलेको छ । यस खेलमा बाबर आजम र मोहम्मद रिजवानले एक सय पाँच रनको साझेदारी गरेका थिए । यद्यपि, खेल जिताउने आधार बलरहरूले नै तय गरेका थिए । साहिन शाह अफ्रिदीले चार ओभर बलिङ गर्दै केवल २४ रन खर्चिएर दुई विकेट लिएका थिए । निकै फर्ममा देखिएका अफ्रिदीले प्रतियोगितामा कुल १० विकेट लिइसकेका छन् भने नसिम शाह, ह्यारिस रउफ र मोहम्मद वासिमको प्रदर्शन पनि निकै स्तरीय रहेको छ । लेग स्पिनर सदाब खान पनि उच्च फर्ममा छन् ।

त्यसैले इंग्ल्यान्डलाई पाकिस्तानी बलरहरूको डर छ । इंग्लिस कप्तान जोस बटलरले पाकिस्तानी फास्ट बलरहरूको प्रशंसा गरेका छन् । ‘उनीहरू निकै उत्कृष्ट टिम हुन् र तीव्र गतिका उत्कृष्ट बलर जन्माएको लामो इतिहास उनीहरूसँग छ,’ उनले भने, ‘आइतबार पनि उनीहरू सशक्त रूपमा प्रस्तुत हुनेछन् । फाइनल खेलको मज्जा नै यही हो ।’

यता, पाकिस्तानी कप्तान बाबर आजमले इंग्लिस ब्याट्सम्यानहरूको प्रशंसा गरेका छन् । ‘भारतविरुद्ध हासिल गरेको १० विकेटको जित नै उनीहरू कति बलिया छन् भन्ने प्रमाण हो । तर, हामीलाई हाम्रो घातक बलिङमा विश्वास छ,’ उनले भने ।

वर्षाको डर
नेपाली समयअनुसार १ः४५ बजे सुरु हुने यस खेलका लागि सबै टिकट बिक्री भइसकेको छ । ९० हजार दर्शकले हेर्ने अनुमान गरिएको यो खेल वर्षाले बिथोलिने चिन्ता पनि उत्तिकै छ । मेलबर्नको मौसम अनिश्चित हुने भएकाले पनि फाइनल बिथोलिन सक्ने चिन्ता देखिएको हो ।

वर्षा भइहाले पनि फाइनल खेल खेलाउनका लागि हरेक प्रयत्न भने हुनेछ । ओभर छोट्याएर भए पनि खेल खेलाउने हुन सक्छ । कम्तीमा १० ओभरको खेल पनि हुन सक्छ ।

Tags :
प्रतिक्रिया दिनुहोस