केपी ओलीभन्दा काँग्रेस हजारौँ गुणा लोकतन्त्रवादी : प्रचण्ड « प्रशासन
Logo १ जेष्ठ २०८१, मंगलबार
   

केपी ओलीभन्दा काँग्रेस हजारौँ गुणा लोकतन्त्रवादी : प्रचण्ड


४ कार्तिक २०७९, शुक्रबार


काठमाडौँ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संविधान र गणतन्त्र उल्ट्याउने षड्यन्त्र रोक्न पाँच दलीय गठबन्धन गर्नुपरेको बताएका छन् । 

शुक्रबार पाँच दलीय सत्ता गठबन्धनले आयोजना गरेको प्रशिक्षणलाई सम्बोधन गर्दै प्रचण्डले तत्कालीन एमाले अध्यक्ष समेत रहेका केपी ओलीले नेतृत्व गरेको गठबन्धन प्रतिगामी गठबन्धन रहेको र सत्ता गठबन्धन अग्रगामी गठबन्धन रहेको बताए । 

‘दुईवटा प्रवृत्ति र दुईवटा गठबन्धन आमनेसामने छन् । एउटा विकास र सम्बृद्धिप्रति प्रतिबद्ध छ र अर्को संविधान, लोकतन्त्र र गणतन्त्र उल्ट्याउने गठबन्धन छ’, प्रचण्डले भने, ‘परिवर्तनको रक्षा गर्ने या उल्ट्याउने भन्ने लडाई मंसिर ४ गते हुँदैछ ।’  उनले खाली निर्वाचन जित्नमात्रै गठबन्धन नबनाएको भन्दै प्राप्त उपलब्धिको रक्षा गर्न सैद्धान्तिक धरातलमा आधारित रहेको बताए । 

उनले प्रमुख प्रतिपक्षले लगाएको आरोपको पनि खण्डन गरे । ‘प्रतिगमन र प्रतिक्रान्तितिर जाने कम्युनिस्ट खोल ओढेका प्रवृतिभन्दा खुलेआम विचारको पक्षपोषण गर्ने लोकतन्त्रको पक्षपोषण गर्ने बुर्जुवाहरू धेरै नजिक हुन्छन्’, प्रचण्डको भनाइ छ ।  रुस र चीनको उदाहरण दिँदै उनले त्यहाँका पार्टीबीचमा निकै ठुलो वैचारिक भिन्नता रहेको बताउँदै केपी ओलीभन्दा काँग्रेस हजारौँ गुणा लोकतन्त्रवादी रहेको दाबी गरे । 

अध्यक्ष प्रचण्डले भने, ‘हामीले तत्कालीन नेकपा भित्र खबरदारी गर्दागर्दै, दुई तिहाइ प्राप्त सरकारले निकै ठुलो अहङ्कार र सर्वत्र भ्रष्टाचार भएपछि आवाज उठायौँ ।’ प्रचण्डले ओली पार्टीभित्र अल्पमतमा परेपछि जनताको सार्वभौम संस्था संसद विघटन गरेर मुलुकलाई प्रतिगमनतिर लाने प्रयास गरेको बताए । उनले पार्टीभित्रको समस्यामा संसद विघटन गरेर ओलीले बदला लिएको भन्दै ओलीको उक्त कदमविरुद्ध जनता सडकमा उतार्नुपरेको बताए । 

प्रचण्डले मंसिर ४ गते हुने निर्वाचन सामान्य नभएको भन्दै ठुलो राजनीतिक लडाइका रूपमा रहेको बताए । उनले भोट ट्रान्सफर हुँदैन कि भन्ने यदाकदा सुनिएको भन्दै यस्तो भ्रम शङ्का र दुबिधा हटाउन गठबन्धन दलका नेता कार्यकर्ताहरूलाई आग्रह गरे । उनले विस्तृत शान्ति सम्झौतामा काँग्रेसका नेता गिरिजा प्रसाद कोइराला र आफूले हस्ताक्षर गरेको दिन नै आफूले रुख र गिरिजाबाबुले हँसिया हथौडामा भोट हालेको बताए ।

Tags :
प्रतिक्रिया दिनुहोस