पद बढुवा भए पनि तलब नबढेपछि बढ्यो असन्तुष्टि, भएन तलबी प्रतिवेदन पारित  « प्रशासन
Logo १५ बैशाख २०८१, शनिबार
   

पद बढुवा भए पनि तलब नबढेपछि बढ्यो असन्तुष्टि, भएन तलबी प्रतिवेदन पारित 


४ कार्तिक २०७९, शुक्रबार


काठमाडौँ । नेपाल प्रहरीमा तल्लो तहमा थपिएका तीन नयाँ दर्जामा सेवा सुविधामा विभेद भएपछि असन्तुष्टि बढेको छ । 

प्रहरीमा तल्लो दर्जामा १० वर्षभन्दा लामो समयसम्म पनि एकै दर्जामा बस्दा मनोबल र कार्यसम्पादनमा समेत असर परेको भन्दै सहायक हवल्दार, वरिष्ठ हवल्दार र वरिष्ठ सई गरी तीन पद सिर्जना गरिएको थियो ।

तर, सो पद अनुसारको तलब सुविधा कायम नभएपछि असन्तुष्टि बढेको हो । प्रहरी नियमावली ०७१ लाई नवौँ संशोधन गरी तीन पद सिर्जना गरिएको हो । मन्त्रिपरिषद्ले प्रहरी नियमावली ०७१ लाई संशोधन गरी (नवौँ संशोधन) नियमावली, २०७८ गत माघ ३ गते राजपत्रमा प्रकाशित भएको थियो ।

सोही आधारमा गत चैतबाट तल्लो तहमा एक तह बढुवा प्रक्रिया सुरु भएको थियो । संशोधनपछि तीन पदमा गरेर २० हजार ४१९ प्रहरीको बढुवा भएको थियो । प्रर्याप्त अध्ययन र योजनाबिनै तह बढुवा अगाडि बढाइएको प्रहरी कर्मचारीहरूको गुनासो छ । तत्कालीन आइजिपी शैलेस थापा क्षेत्रीको कार्यकालमा यो व्यवस्था लागु भएको हो ।

तलब र ग्रेड मिलान नहुँदा तलबी प्रतिवेदनसमेत पारित हुन सकेको छैन । यसबारे संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले गृह मन्त्रालयलाई पत्राचार गरेको छ । एक साताअघि गरिएको पत्राचारमा प्रहरी वरिष्ठ नायब निरीक्षक, प्रहरी वरिष्ठ हवल्दार प्रहरी सहायक हवल्दार र प्रथम स्तरदेखि चापौँ स्तरसम्मका प्रहरी कार्यालय सहयोगीको गत आर्थिक वर्षका लागि तलब स्केल र ग्रेड रकम नतोकिएकाले किताबखानाबाट कार्य सम्पादन गर्न कानुनी कठिनाइ परेको उल्लेख छ ।

बाह्रखरीलाई प्राप्त पत्रमा भनिएको छ, “०७९ साउन १ गतेभन्दा अगाडि बढुवा भई अवकाश प्राप्त प्रहरी कर्मचारीहरूको हालसम्म उपदान रकम किटान तथा निवृत्तिभरण अधिकारपत्र जारी गर्न सकिएको छैन ।”

राष्ट्रिय किताबखानाकी उपमहानिर्देशक शान्ता अधिकारी भट्टराईद्वारा हस्ताक्षरित पत्रमा गत आर्थिक वर्ष तलब स्केल नतोकिएको र चालु आर्थिक वर्षदेखी तलब वृद्धि भएकाले चालु आवको लागि ७७ जिल्लामै सो पदहरूको अघिल्लो आर्थिक वर्षको खाइपाइ आएको ग्रेड संख्या र तलब उल्लेख गर्न नसकिएकोले तलबी प्रतिवेदनसमेत पारित गर्न नसकिएको उल्लेख छ ।

प्रहरीभित्रै विस्तृत अध्ययन र कार्ययोजना बिना हतारमा लोकप्रियताका लागि तह बढुवा गरिएको आवाज उठ्दै आएको छ ।  प्रहरी नियमावली ०७१ लाई नवौँ संशोधन गरी तीन पद सिर्जना गरिएको थियो । सो आधारमा सइबाट वरिष्ठ सईमा १ हजार ४१८ जना, हवल्दारबाट वरिष्ठ हवल्दारमा ३ हजार ७४८ र प्रहरी जवानबाट प्रहरी सहायक हवल्दारमा १५ हजार २५३ जना बढुवा अवसर पाएका थिए ।

तर, सेवा सुविधा भने वरिष्ठभन्दा कनिष्ठकै बढी छ । हाल सईले ४२ हजार ६१३ रुपैयाँ प्राप्त गर्दछन् भने वरिष्ठ सईले ४० हजार ९०० रुपैयाँ प्राप्त गर्दै आएका छन् । बढुवा भएका सबै पदमा यो समस्या छ ।

तह बढुवापछि निराश नभई थप उत्साह छाएको प्रहरी प्रधान कार्यालयका प्रवक्ता डिआइजी टेकप्रसाद राई दाबी गर्छन् । उनले माथिल्लो दर्जाको सेवा सुविधा तल्लो दर्जाभन्दा कम नभएको दाबीसमेत गरेका छन् । 

Tags :
प्रतिक्रिया दिनुहोस