तनहुँमा २ लाख ४८ हजार मतदाता « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

तनहुँमा २ लाख ४८ हजार मतदाता


२७ आश्विन २०७९, बिहिबार


तनहुँ । आगामी मङ्सिर ४ गते हुने सङ्घीय तथा प्रदेशको निर्वाचनमा तनहुँबाट दुई लाख ४८ हजार चार सय ९५ मतदाता सहभागी हुँदैछन् ।

गत जेठ महिनादेखि यता चार हजार एक सय ५५ नयाँ मतदाता थपिएपछि उक्त सङ्ख्या पुगेको जिल्ला निर्वाचन कार्यालयका प्रमुख हरिप्रसाद ढकालले जानकारी दिए । विसं २०७९ को वैशाखमा सम्पन्न स्थानीय तहको निर्वाचनमा दुई लाख ४४ हजार तीन सय ४० मतदाताले मतदान गरेका थिए ।

अस्थायी मतदान केन्द्र

त्यसैगरी आगामी मङ्सिर ४ गते हुन गइरहेको सङ्घीय तथा प्रदेशको निर्वाचनमा मतदान केन्द्र, मतदानस्थलको साथै अस्थायी मतदान केन्द्र रहने छ । सुरक्षाकर्मी, राष्ट्रसेवक कर्मचारी, कैदीबन्दी र आश्रममा रहेका ज्येष्ठ नागरिकका लागि लक्षित गरी अस्थायी मतदान केन्द्र स्थापना गर्न लागेको हो । सुरक्षाकर्मी, राष्ट्रसेवक कर्मचारीले सङ्घीय संसद्को समानुपातिक उम्मेदवारलाई मात्रै मतदान गर्न पाउने व्यवस्था गरिएको जिल्ला निर्वाचन कार्यालय तनहुँका प्रमुख ढकालले जानकारी दिए ।

अन्यको हकमा भने सङ्घीय र प्रदेश दुवै उम्मेदवारलाई मतदान गर्न पाउने छन् । उनले भने, ‘अस्थायी मतदान केन्द्र निर्धारण गर्न बाँकी रहे पनि यस जिल्लाको हकमा बढीमा तीनदेखि चार वटासम्म हुन सक्छ ।’ उक्त निर्वाचनमा यस जिल्लाबाट पुरुष एक लाख १९ हजार छ सय ५० र महिलातर्फ एक लाख २८ हजार आठ सय ४५ जनाले मतदान गर्दै छन् ।

आवश्यकताको आधारमा निर्वाचन आयोगलाई अस्थायी मतदान केन्द्रको लागि सिफारिस गरी पठाइनेछ । उनले भने, ‘मतदान गर्नबाट कोही पनि नछुटून भनी आयोगले यस किसिमको कार्य व्यवस्था गरेको छ ।’

जिल्लाका ८५ वडामा गरी एक सय ४२ मतदानस्थल र तीन सय पाँच मतदान केन्द्र रहेको उनले जानकारी दिए । तनहुँका दुई निर्वाचन क्षेत्रबाट विभिन्न राजनीतिक दलका गरी ५७ उम्मेदवार चुनावी मैदानमा छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस