सांसदहरूको सेवा सुविधामा अचाक्ली खर्च, मूल्याङ्कन शीर्षकमै सकियो १ करोड २९ लाख « प्रशासन
Logo ६ जेष्ठ २०८१, आइतबार
   

सांसदहरूको सेवा सुविधामा अचाक्ली खर्च, मूल्याङ्कन शीर्षकमै सकियो १ करोड २९ लाख


२९ भाद्र २०७९, बुधबार


काठमाडौँ । विकास बजेट खर्चमा निकै कमजोर देखिएको सुदूरपश्चिम प्रदेशमा सांसदहरूको सेवा सुविधामा भने अचाक्ली खर्च गरेका छन् । आर्थिक वर्ष २०७८/२०७९ मा प्रदेश सरकारको कूल बजेट खर्च ६६ दशमलव ६१ प्रतिशतमात्रै छ । जसको ७१ दशमलव ७१ प्रतिशत चालु खर्च छ भने पुँजीगत खर्च जम्मा ६४ दशमलव २३ प्रतिशतमात्रै छ ।

तर यहाँका प्रदेश सांसदका तलब, भत्ता, अनुगमन, सञ्चार, आवास, निजी सचिवालय, बिजुली, अतिथि सत्कारमा मात्रै करोडौँ खर्च भएको छ । आमनागरिकका सेवा सुविधामा तथा पुँजीगत बजेट खर्चमा खासै महत्त्व नदिएको प्रदेश सरकारले मन्त्री, सांसदका सेवा सुविधाको लागि भने २ पटक कानुन नै संशोधन गरी सेवा सुविधा बढाएको हो ।

सुदूरपश्चिम प्रदेशसभा सचिवालय धनगढीको तथ्याङ्क अनुसार प्रदेश सरकारका मन्त्री बाहेक हालसम्म सभामुख, उपसभामुखसहित सांसदहरूले अनुगमन मूल्याङ्कनको नाममा मात्रै १ करोड २९ लाख ९ हजार रुपैयाँभन्दा बढी खर्च गरेका छन् ।

आर्थिक वर्ष २०७४/०७५ मा २४ लाख ६० हजार ३५०, आर्थिक वर्ष २०७५/०७६ मा ५४ लाख ८ हजार २४८, आर्थिक वर्ष २०७६र/०७७ मा १४ लाख ३९ हजार ७२१, आर्थिक वर्ष २०७७/०७८ मा ११ लाख ५१ हजार ५२५ रुपैयाँ र आर्थिक वर्ष २०७८/०७९ मा २४ लाख ४९ हजार ३४० रुपैयाँ सभामुख, उपसभामुख तथा प्रदेशसभा सदस्यहरूको अनुगमन, मूल्याङ्कन खर्च शीर्षकमा रकम खर्चिएको छ ।

त्यसबाहेक प्रदेशसभा सदस्यहरूले ५६ हजार ५०० रुपैयाँ पारिश्रमिक, सञ्चार सुविधा बापत मासिक ३ हजार, आवास सुविधा बापत मासिक १८ हजार, निजी सचिवालय बन्दोबस्त बापत मासिक एक हजार ७५०, बिजुली धारा शीर्षक अन्तर्गत मासिक २ हजार, अतिथि सत्कार बापत मासिक ७ हजार लिने गरेका छन् ।

अनुगमन, मूल्याङ्कन खर्च अन्तर्गत आव २०७४/२०७५ मा सबैभन्दा बढी रकम अम्भी कुमारी थापाले लिएकी छन् । उनले सो आर्थिक वर्षमा १ लाख ११ हजार ५ सय रुपैयाँ लिएकी थिइन् । यस्तै, गोविन्दराज बोहराले ९३ हजार ३०० र नेपाल चौधरीले ९२ हजार ३५० रुपैयाँ उक्त शीर्षकमा लिएका छन् ।

आव २०७५/२०७६ मा सो शीर्षकमा सबैभन्दा बढी भरतबहादुर खड्काले २ लाख ४ हजार रुपैयाँ बुझेका छन् । आव २०७६/२०७७ मा सबैभन्दा बढी उपसभामुख निर्मला बडाल जोशीले १ लाख २३ हजार ६५१ रुपैयाँ बुझेकी छन् । आव २०७७/२०७८ मा भरत बहादुर खड्काले ८१ हजार १२५ रुपैयाँ बुझेका छन् । त्यस्तै, आव २०७८/२०७९ मा सबैभन्दा बढी बुझ्नेमा बलबहादुर सोडारी छन् । उनले १ लाख ८१ हजार ५० रुपैयाँ बुझेका छन् भने दोस्रो स्थानमा देवकी मल्ल थापाले १ लाख ६९ हजार ८७५ रुपैयाँ बुझेकी छन् । सो आर्थिक वर्ष भरतबहादुर खड्काले १ लाख ५९ हजार ६० रुपैयाँ बुझेको सचिवालयको तथ्याङ्कमा उल्लेख छ ।

२०७९ साउनको विवरण हेर्ने हो भने, तलबसहितका सञ्चार, आवास, निजी सचिवालय, बिजुली, अतिथि सत्कारको नाममा सबैभन्दा बढी सुविधा लिनेमा कुन्ती जोशी, कुमारी नन्दा बम, दुर्गा कुमारी कामी, नेपालु चौधरी र हर्कबहादुर कुँवर देखिएका छन् । उनीहरूले ९० हजार ४५० रुपैयाँ बुझेको देखिएको छ । यी ५ जना सांसदले अतिथि सत्कार, आवास, निजी सचिवालय बन्दोबस्तमा अरूभन्दा बढी खर्च गरेको तथ्याङ्कले देखाउँछ ।

विकास बजेट खर्चमा चासो नदेखाउने तर व्यक्तिगत लाभ हुने ठाउँमा सांसदहरू अगाडि देखिएको भन्दै आलोचना समेत हुँदै आएको छ ।

हेर्नुस् सूची:

Tags :
प्रतिक्रिया दिनुहोस