काठमाडौँ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कर्मचारीहरूलाई पूरा बाहुला भएका पोसाक लगाउन आग्रह गरेको छ ।
लामखुट्टेको टोकाइबाट सर्ने डेंगु रोगको प्रकोप बढेको भन्दै मन्त्रालयले त्यसबाट जोगिन पूरा बाहुला भएको पोसाक लगाउन आग्रह गरेको हो ।
मन्त्रालयले आज जारी गरेको सूचनामा लेखिएको छ, ‘डेंगु रोगको सङ्क्रमणको जोखिम कम गर्न कार्यस्थल वरिपरि निरन्तर सफा राख्नुहुन र कार्यालय समयमा पूरा बाहुला भएको पोसाक अनिवार्य लगाउनुहुन नेपाल सरकारका सम्पूर्ण कर्मचारीहरू एवं सार्वजनिक, सामुदायिक र निजी क्षेत्रमा कार्यरत सम्पूर्ण कर्मचारीहरूमा अनुरोध छ ।’
डेंगु एडिज नामको लामखुट्टेको टोकाइबाट सर्छ । यो लामखुट्टे विशेष गरी बिहान र बेलुकाको समयमा सक्रिय हुन्छ । त्यसैले डेंगु रोग लाग्नबाट जोगिने सबैभन्दा उत्तम उपाय भनेको लामखुट्टेको टोकाइबाट जोगिनु हो ।
मन्त्रालयका सह प्रवक्ता समीर कुमार अधिकारीका अनुसार मन्त्रालयले प्रतिकार्य योजना बनाइ विभिन्न गतिविधि सञ्चालन गरिरहेको छ । डेंगुको बढ्दो सङ्क्रमणलाई न्यूनीकरण गर्न प्रदेश, जिल्ला र स्थानीय तहसँगको समन्वयमा लामखुट्टेका लार्भा ‘खोज र नष्ट गर’ अभियानलाई तीव्र बनाइएको सह प्रवक्ता अधिकारीले जानकारी दिए ।
हेर्नुस् सूचना :
