अर्थमन्त्री शर्माले भने-कर्णाली सुनको डल्लो हो, अब कालिगढको आवश्यकता छ ! « प्रशासन
Logo १७ बैशाख २०८१, सोमबार
   

अर्थमन्त्री शर्माले भने-कर्णाली सुनको डल्लो हो, अब कालिगढको आवश्यकता छ !


१६ भाद्र २०७९, बिहिबार


काठमाडौँ । अर्थमन्त्री जनार्दन शर्माले कर्णाली सुनको डल्लो भएको बताएका छन् । बिहीबार उद्योग वाणिज्य संघ सुर्खेतले आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा शर्माले यस्तो बताएका हुन् । उनले कर्णालीमा प्रशस्त सम्भावना रहेको बताए ।

‘कर्णाली सुनको डल्लो हो, तर गहना बनाउनका लागि कालिगढको आवश्यकता रहेको शर्माले बताए । शर्माले कर्णाली गरिब नभई अथाह सम्भावना रहेकाले अब समृद्धिको बहस गर्नुपर्ने बताए ।

शर्माले आफू केन्द्रमा रहेर गृह प्रदेशको विकास र समृद्धिका लागि अग्रसर भइरहेको बताए । निजी क्षेत्रका पदाधिकारीहरुले सुर्खेत विमानस्थलको बारेमा कुरा उठाएका थिए । शर्माले प्रदेश सरकारका पूर्व मुख्यमन्त्री महेन्द्रबहादुर शाहीकै पालामा सम्झौतादेखि बजेट व्यवस्थापनका कार्यहरु थालनी भएको बताए ।

यद्यपि जीवनबहादुर शाही मुख्यमन्त्री बनेर आएपछि विमानस्थल विस्तारको ‘च्याप्टर’ क्लोज गरेका थिए । त्यसपछि भेरीगंगा नगरपालिकाको रामाघाटमा नयाँ विमानस्थल बनाउने प्रस्ताव गरेर कार्य अघि बढाउने तयारी भइरहेको छ । तर उक्त विमानस्थल निर्माण हुन लामो समय लाग्न सक्ने व्यवसायीहरुको भनाइ थियो ।

उद्योग वाणिज्य महासंघ सुर्खेतका अध्यक्ष पदमबहादुर शाहीले तत्कालका लागि कर्णालीको आर्थिक क्षेत्रलाई चलायमान गर्नका लागि हालकै विमानस्थललाई विस्तार गर्नुपर्ने बताए । त्यसका लागि संघ सरकारले पहल गरिदिन अर्थमन्त्री शर्मालाई उद्योग वाणिज्य संघ सुर्खेतले ज्ञापनपत्र समेत बुझाएको छ । शर्माले उक्त विमानस्थल विस्तारका लागि केन्द्रबाट विगतदेखिनै पहल भइरहेकाले चाँडो विस्तार गर्नुपर्ने बताए ।

त्यसका लागि केन्द्रबाट गरिनुपर्ने काममा आफूले पहल थालनी गर्ने उनको भनाइ थियो । शर्माले कर्णाली करिडोर लगायतका कर्णालीको जलविद्युत क्षेत्रको विकासका लागि पनि आन्तरिक रुपमा पहल गरिरहेको बताए ।

Tags :
प्रतिक्रिया दिनुहोस