कविरामले पाए ३३ वर्षपछि आफ्नै नामको नागरिकता « प्रशासन
Logo ७ बैशाख २०८१, शुक्रबार
   

कविरामले पाए ३३ वर्षपछि आफ्नै नामको नागरिकता


५ भाद्र २०७९, आइतबार


काठमाडौँ । जिल्ला प्रशासन कार्यालय दैलेखले भगवतीमाई गाउँपालिका-३ मेहेतोलीका कविराम कामीलाई नयाँ नागरिकता प्रदान गरेको छ ।

गृहमन्त्रालयले अपमानजनक नाम भएका नागरिकताबारे आवश्यक प्रक्रिया पूरा गरी जिल्ला प्रशासन कार्यालयलाई पुन नागरिकता दिन निर्देशन दिएपछि ‘कुकुर कामी’ नाम उल्लेख गरिएका कविरामलाई जिल्ला प्रशासनले नयाँ नागरिकता प्रदान गरेको होे ।

२०४६ जेठ १० गतेको गाउँमा नागरिकता टोली गएको बेलामा कविरामको नाम तत्कालीन प्रधानपञ्चको सिफारिसमा ‘कुकुर कामी’ लेखिएको थियो । 

विभिन्न सञ्चार माध्यममा समाचार प्रकाशन भएपछि गृह मन्त्रालय र संसद्को ध्यानाकर्षण भएको थियो । त्यसलगत्तै गृह मन्त्रालयले जिल्ला प्रशासनहरूलाई पत्राचार गर्दै अपमानजनक नाम सच्याउन निर्देशन दिएको थियो ।

कविरामलाई आइतबार प्रमुख जिल्ला अधिकारी हरि प्याकुरेलले नयाँ नागरिकताको प्रमाणपत्र दिएका हुन् । नागरिकता प्रमाणपत्र लिन उनी वडा कार्यालयको सिफारिससहित प्रशासन कार्यालय पुगेका थिए ।

३३ वर्षपछि नागरिकतामा वास्तविक नाम पाएपछि कविराम खुसी भए । आफ्नै नामबाट नागरिकता पाउला भन्ने सोचेकै थिइनँ । कविराको नागरिकतासँगै कुकुर कामी नाम भएका अन्य प्रमाणपत्रहरू खारेज गरिने प्रजिअ प्याकुरेलले बताए ।

Tags :
प्रतिक्रिया दिनुहोस