बैतडीमा भूमिहीनका लागि आवेदन खुला « प्रशासन
Logo १९ बैशाख २०८१, बुधबार
   

बैतडीमा भूमिहीनका लागि आवेदन खुला


४ भाद्र २०७९, शनिबार


बैतडी । राष्ट्रिय भूमि आयोगले भूमिहीनका लागि आवेदन खुला गरेको छ । भूमिहीन दलित, भूमिहीन सुकुम्बासी र अव्यवस्थित बसोबासीको व्यवस्थापनका लागि आवेदन खुला गरिएको हो ।

राष्ट्रिय भूमि आयोगले ३५ दिने सूचना प्रकाशन गर्दै आफ्नो वडामा तोकिएको ढाँचामा निवेदन दिन आग्रह गरेको छ । राष्ट्रिय भूमि आयोग जिल्ला समितिका जिल्ला अध्यक्ष धर्मसिंह ऐरका अनुसार जिल्लाका छ पालिकामा रहेका भूमिहीन दलित, भूमिहीन सुकुम्बासीलाई आवेदन दिन भनिएको छ ।

मेलौली नगरपालिका, पाटन नगरपालिका, पुर्चौंडी नगरपालिका, शिवनाथ गाउँपालिका, सिगास गाउँपालिका र सुर्नया गाउँपालिकामा रहेका भूमिहीन दलित, भूमिहीन सुकुम्बासी र अव्यवस्थित बसोबासीलाई आवदेन दिन सूचना प्रकाशन गरिएको हो ।

पञ्चेश्वर गाउँपालिकाका लागि यसअघि नै सूचना प्रकाशन भइसकेको छ । डिलाशैनी गाउँपालिका, दोगडाकेदार गाउँपालिका र दशरथचन्द नगरपालिकासँग भने सम्झौता गर्न नै बाँकी रहेको ऐरको भनाइ छ ।

नभएकालाई जमिनको व्यवस्थापन गर्ने उद्देश्यले लगत सङ्कलनमार्फत आवदेन सङ्कलन गरिनेछ । उनले भने, ‘राष्ट्रिय भूमि आयोगले सूचना प्रकाशन गरेपछि हामीले पनि पालिकालाई पत्र पठाइसकेका छौँ । यकीन तथ्याङ्क सङ्कलन गरेर समस्यामा परेका भूमिहीन दलित, भूमिहीन सुकुम्बासी र अव्यवस्थित बसोबासीको समस्या समाधानका लागि पहल गर्छौं ।’

आयोगले देशका विभिन्न पालिकामा रहेको भूमिहीन दलित, भूमिहीन सुकुम्बासी र अव्यवस्थित बसोबासीका लागि सूचना प्रकाशन गरेको जनाइएको छ । योसँगै बैतडीका छसहित सुदूरपश्चिमका सात पहाडी जिल्लाका ३८ स्थानीय तहका लागि आवेदन खुला गरिएको हो ।

Tags :
प्रतिक्रिया दिनुहोस