सर्वोच्चले निर्माण नगर्न अन्तरिम आदेश दिएको मेडिकल कलेजको जग्गा अनुगमनमा महान्यायाधिवक्ता « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

सर्वोच्चले निर्माण नगर्न अन्तरिम आदेश दिएको मेडिकल कलेजको जग्गा अनुगमनमा महान्यायाधिवक्ता


२२ श्रावण २०७९, आइतबार


काठमाडौँ । बर्दिबास मेडिकल कलेजको प्रस्तावित जग्गामा महान्यायाधिवक्ता खम्मबहादुर खातीले स्थलगत अनुगमन गरेका छन् । नगरप्रमुख प्रह्लाद क्षेत्रीको अनुरोधमा प्रस्तावित जग्गा माइस्थान सामुदायिक वनमा शनिबार उनले अनुगमन गरेका हुन् ।

अनुगमनको क्रममा  महान्यायाधिवक्ता खातीले जनताको चाहनाअनुसार नै फैसला हुनेमा विश्वास व्यक्त गरे । नगरप्रमुख क्षेत्रीले महान्यायाधिवक्ताले प्रस्तावित जग्गाको अनुगमन गरेको सकारात्मक बनेर फर्किएका कारण परिणाम पनि सुन्दर आउनेमा विश्वस्त रहेको उनले बताए ।  

उक्त जग्गामा रुख काटिने कारण देखाउँदै पर्यावरण अभियन्ता देवनारायण मण्डलल दिएको रिटमाथि २०७८ फाल्गुणमा सर्वोच्च अदालतले अन्तरिम आदेश जारी गरेको थियो । बर्दिबास मेडिकल कलेज पूर्वाधार निर्माण कार्य अगाडि नबढाउन सर्वोच्चले अन्तरिम आदेश जारी गरेपछि बर्दिबास केन्द्र पर्ने मधेस प्रदेशसहित अन्य जिल्लाको समेत चासो बनेको छ ।

प्रस्तावित जग्गामा नै मेडिकल कलेज निर्माण गर्ने उद्देश्यका साथ ६ करोड भन्दा बढी खर्च भइसकेको र रुखसमेत न्यून भएकाले उक्त ठाउँ नै उत्तम रहेको स्थानीयले बताए । बर्दिबास सबै जिल्लाको मध्यबिन्दु भएको र पूर्वाधार निर्माण परियोजना अन्तर्गत करोडौँ रुपैयाँ  राज्यको खर्च भइसकेकाले प्रस्तावित जग्गामा नै मेडिकल बन्नेमा अधिवक्ता टिकाध्वज खडकाले विश्वास व्यक्त गरे ।

संघीय सरकारको एक प्रदेश एक मेडिकल कलेजको अवधारणाअनुसार आर्थिक वर्ष २०७३–०७४ को बजेट वक्तव्यमा मधेस प्रदेशअन्तर्गत महोत्तरीको बर्दिबासमा, प्रदेश-५ को रुपन्देहीको तिलोत्तमामा र कर्णाली प्रदेशको सुर्खेतमा मेडिकल कलेज स्थापना गर्ने उल्लेख भएको थियो । 

संघीय सरकारले मधेस प्रदेशको आठवटै जिल्लाको केन्द्र र अन्य जिल्लालाई समेत सहज हुने अध्ययन अनुसन्धानले निष्कर्ष निकालेपछि बर्दिबास नगरपालिकामा नै स्थान निर्धारण गरेको थियो ।

Tags :
प्रतिक्रिया दिनुहोस