काठमाडौँ । बिमा कम्पनीका कर्मचारीहरूले मर्जर वा प्राप्तिको सैद्धान्तिक स्वीकृति दिनु पूर्व कर्मचारीको पद, तह र सेवा सुविधा लगायतको योजना माग्नुपर्ने व्यवस्था गर्नुपर्ने बताएका छन् ।
नेपाल वित्तीय संस्था कर्मचारी सङ्घले विज्ञप्ति जारी गर्दै मर्जर अघि कर्मचारी व्यवस्थापनको योजना माग्न बिमा समितिलाई आग्रह गरेको हो ।
सङ्घले मर्जर वा प्राप्तिमा जाने कम्पनीले त्यस्तो खाका पेस गरेपछि मात्र सैद्धान्तिक स्वीकृति प्रदान गर्नु पर्ने माग राखेको छ । सङ्घले बिमा समिति समक्ष ‘कर्मचारीले खाइपाई आएको तलब सुविधा नघट्ने गरी व्यवस्थापन गरिनेछ’ भनेर लेखिएको पत्र माग्न समिति समक्ष आग्रह गरेको छ ।
नियामक निकायले नै यस विषयमा ठोस कदम चाल्नु पर्ने सङ्घको निष्कर्ष छ । बिमा क्षेत्रलाई सबल, सक्षम, पारदर्शी, विश्वसनीय, व्यावसायिक र पूर्ण प्रतिस्पर्धी बनाई यस क्षेत्रमा कार्यरत कर्मचारीको हित तथा उनीहरूको सेवा र सेवा सर्तको रक्षाका लागि विभिन्न चार विषयमा बिमा समितिले स्पष्ट निर्देशन जारी गर्नुपर्ने सङ्घको माग छ ।