भारतको १५औँ राष्ट्रपतिमा द्रौपदी मुर्मू निर्वाचित « प्रशासन
Logo ७ बैशाख २०८१, शुक्रबार
   

भारतको १५औँ राष्ट्रपतिमा द्रौपदी मुर्मू निर्वाचित


५ श्रावण २०७९, बिहिबार


नयाँ दिल्ली । भारतको १५औँ राष्ट्रपतिमा द्रौपदी मुर्मू निर्वाचित भएकी छन् । आदिवासी समुदायबाट पहिलो व्यक्ति मुर्मू भारतको सर्वोच्च संवैधानिक पदमा पुग्ने दोस्रो महिला हुन् । 

सत्तारुढ भारतीय जनता पार्टी नेतृत्वको एनडीए गठबन्धनले उम्मेदवार बनाएकी मुर्मू काँग्रेस सहितको विपक्षी दलले राष्ट्रपतिमा अघि सारेको तृणमुल काँग्रेसमा रहेका पूर्वभाजपा नेता यशवंत सिन्हालाई भारी मतान्तरले पराजित गर्दै राष्ट्रपति चुनिएकी हुन् । उनी ५ लाख ७७ हजार ७७ सय ७७ मतमूल्य प्राप्त गरी विजयी भएकी हुन् ।

भारतको संवैधानिक प्रावधानअनुसार केन्द्रीय सांसद र विधान सभा सदस्यहरूको कुल मत मूल्य १० लाख ८६ हजार ४ सय ३१ को ५० प्रतिशत कटाउने उम्मेदवार विजयी हुन्छन् । ७२ प्रतिशत मत प्राप्त गरेकी मुर्मूका प्रतिद्वन्द्वी सिन्हाले २ लाख ६१ हजार ६२ मत मूल्य प्राप्त गरेका छन् । 

उडिशाकी ६४ वर्षीय मुर्मूले आगामी २५ जुलाईमा सर्वोच्च अदालतका मुख्य न्यायाधीशबाट शपथ लिने छिन् । २० जुन १९५८ मा मयूरभंज जिल्लाको बैदापोसी गाउँमा जन्मिएकी उनी त्यहाँकी आदिवासीसमेत हुन् । झारखण्डमा करिब ६ वर्ष राज्यपाल रहेकी उनी स्नातक गरेसँगै आफ्नो राजनीतिक जीवनको सुरुवात उडिशा सरकारमा ‘क्लर्क’ पदबाट गरेकी थिइन् । सिँचाइ र ऊर्जा विभागमा जुनियर सहायक भएर काम गरेकी उनी शिक्षण पेसामा समेत आबद्ध भइन् । भाजपाको टिकटबाट सन् २००० देखि सन् २००९ सम्म दुईपल्ट विधायक निर्वाचित भइसकेकी मुर्मू उडिशाबाट विधायक र उडिशा सरकारमा मन्त्रीसमेत भइसकेकी छन् । भाजपा गठबन्धनले उनलाई झारखण्डको राज्यपालसमेत बनाएको थियो । 

मयूरभंज जिल्लाको भाजपा अध्यक्ष समेत रही सकेकी उनलाई सन् २०१५ मा मोदी सरकारको सिफारिसमा झारखण्डको राज्यपाल नियुक्त गरिएको थियो । भाजपाले यसअघि दलित समुदायकै कोविंद र त्यसअघि अटल बिहारी बाजपेयीको समयमा चर्चित वैज्ञानिक अब्दुल कलामलाई राष्ट्रपति बनाएको थियो । 

भारतमा अहिलेसम्म डा. राजेन्द्र प्रसाद, डा. सर्वपल्ली राधाकृष्णन्, डा. जाकिर हुसैन, वराहगिरी वेंकटगिरी, डा. फखरुद्दिनअलीअहमद, निलम सञ्जीव रेड्डी, ज्ञानी जैल सिंह, आर वेंकटरमन, डा. शंकरदयाल शर्मा, के आर नारायनन, डा. एपीजे अब्दुलकलाम, प्रतिभादेवी सिंह पाटिल, प्रणव मुखर्जी र रामनाथ कोविंद राष्ट्रपति भइसकेका छन् । 

Tags :
प्रतिक्रिया दिनुहोस