स्कटल्याण्डमाथि नेपालको ऐतिहासिक सानदार जित « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

स्कटल्याण्डमाथि नेपालको ऐतिहासिक सानदार जित


३० असार २०७९, बिहिबार


काठमाडौँ । आइसिसी पुरुष विश्वकप लिग टु अन्तर्गत स्कटल्याण्डमा जारी त्रिकोणात्मक एकदिवसीय अन्तर्राष्ट्रिय सिरिजमा नेपालले पहिलो जित दर्ता गरेको छ ।

बुधबार भएको खेलमा आयोजक स्कटल्याण्डलाई ५ विकेटले हराउँदै नेपालले सिरिजमा पहिलो जित निकालेको हो ।

स्कटल्याण्डमाथि नेपालको यो ऐतिहासिक जित हो । स्कटल्याण्डविरुद्ध नेपालले पहिलो पटक जित निकालेको हो ।

यस अघि भएको पहिलो खेलमा नेपाल नामिबियासँग ४० रनले पराजित भएको थियो ।

स्कटल्याण्डको यो जारी सिरिजमा पहिलो हार हो । पहिलो खेलमा स्कटल्याण्डले नामिबियालाई ७७ रनले हराएको थियो ।

स्कटल्याण्डले दिएको १ सय ४५ रनको लक्ष्य नेपालले २५ ओभर १ बलमा ५ विकेट गुमाएर पूरा गर्‍यो । नेपालको जितमा आसिफ शेखले ७१ रनको अर्धशतकीय इनिङ खेले । उनले ६२ बलमा १० चौका र १ छक्का प्रहार गरे ।

यस्तै कुशल भुर्तेलले २७ रन जोड्दा देव खनाल ४, दीपेन्द्र सिंह ऐरी ३ र आरिफ शेख १ रनमा आउट भए ।

रोहित पौडेल ३४ रनमा अविजित रहँदा आदील आलम शून्य रनमा अविजित रहे । स्कटल्याण्डका गाभिन मेनले ३ तथा एड्रिन निल र रिची बेरिङटनले १-१ विकेट लिए ।

त्यसअघि टिटवुड ग्लासगोमा टस हारेर पहिले ब्याटिङ गरेको स्कटल्याण्डले ४२ ओभर ५ बलमा अलआउट हुँदै  १ सय ४४ रन बनाएको थियो ।

स्कटल्याण्डका लागि गाभिन मेनले अविजित रहँदै सर्वाधिक ६४ रनको अर्धशतकीय इनिङ खेले ।

मार्क वाटले १७ तथा सफ्यान शारिफले १६ रन जोडे । कलुम म्याकलोडले १३ रन जोड्दा अन्य खेलाडीले दोहोरो अङ्क जोड्न सकेनन् ।

नेपालका सोमपाल कामी र आदील आलमले ३-३ विकेट लिए । कप्तान सन्दीप लामिछानेले २ तथा करण केसी र दीपेन्द्र सिंह ऐरीले १-१ विकेट लिए ।

यस जितसँगै नेपालले १८ खेलमा १७ अङ्क जोडेको छ । नेपाल लिग टु को अङ्क तालिकाको पाँचौँ स्थानमा उक्लिएको छ ।

स्कटल्याण्ड २२ खेलमा ३० अङ्क जोडेर दोस्रो स्थानमा रहेको छ ।

सिरिज अन्तर्गत अब नेपालले तेस्रो खेलमा नामिबियाविरुद्ध शनिबार र अन्तिम खेलमा नेपालले स्कटल्याण्डविरुद्ध अर्को आइतबार खेल्नेछ ।

Tags :
प्रतिक्रिया दिनुहोस