बाजुराको बुढीगंगामा बिहीबार मतदान हुँदै, सुरक्षा व्यवस्था कडा « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

बाजुराको बुढीगंगामा बिहीबार मतदान हुँदै, सुरक्षा व्यवस्था कडा


२२ असार २०७९, बुधबार


काठमाडौँ । बाजुराको बुढीगंगा नगरपलिकामा बिहीबार हुने निर्वाचन हुने भएको छ । निर्वाचनलाई भयरहित वातावरणमा सम्पन्न गर्न सुरक्षा व्यवस्थामा कडाइ गरिएको स्थानीय प्रशासनले जनाएको छ ।

प्रमुख जिल्ला अधिकारी प्रकाशचन्द्र अधिकारीले निर्वाचनलाई स्वच्छ, निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गर्न सुरक्षा व्यवस्थामा कडाइ गरिएको जानकारी दिए ।

उनले १० वटा मतदानस्थलमा नेपाल प्रहरी र सशस्त्र प्रहरीबाट प्रहरी निरीक्षक(इन्स्पेक्टर)को नेतृत्वको टोली खटाइएको बताए । निर्वाचनका लागि आवश्यक पर्ने सामग्रीसहित मुख्य निर्वाचन अधिकृतको कार्यालयबाट कर्मचारीहरू मतदान केन्द्रहरूमा पुगिसकेको पनि प्रजिअ अधिकारीले बताए ।

उनका अनुसार निर्वाचनका लागि आवश्यक पर्ने सबै तयारी पूरा भइसकेकाले बिहीबार बिहान ७ बजेदेखि मतदान हुनेछ ।

मंगलबार सबै मतदानस्थलको निरीक्षण गरेका अधिकारीले बुधबार पनि मुख्य निर्वाचन अधिकृतसहितको टोलीले निरीक्षण गर्ने कार्यक्रम रहेको जनाए ।

गत वैशाख ३० गते भएको निर्वाचनमा नेपाली काँग्रेस र नेकपा एमालेबिच मतदानमा धाँधली भएको भन्दै विवाद भएपछि मतदान नै स्थगित गरिएको थियो ।

निर्वाचन आयोगले गरेको स्थलगत अध्ययनले पुनः निर्वाचन गर्ने निष्कर्ष निकालेको थियो । निर्वाचन पुनः हुनुपर्ने माग गर्दै अदालतमा मुद्दासमेत परेको थियो । पछि सर्वदलीय सहमतिका आधारमा पुनः निर्वाचनको मिति तय गरिएको थियो ।

बुढीगंगा नगरपालिकाको मेयरमा नेपाली काँग्रेसका रङ्ग खाती र एमालेका रामबहादुर बानियाँ उम्मेदवार छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस