काठमाडौँ । इन्धन अभावका कारण श्रीलङ्कामा विद्यालय बन्दको घोषणा गरिएको छ। पहिलो चरणमा जुलाई ४ देखि एक साता बन्द गर्ने घोषणा गरिएको हो।
शिक्षा मन्त्रालयले सरकारको स्वामित्वमा रहेका र सरकारको स्वीकृतिमा सञ्चालन भएका सबै निजी विद्यालयहरू बन्द गर्ने निर्णय गरिएको जनाएको छ।
विद्यालयहरू बन्द गरिएपछि इन्धनको खपत कम हुने विश्वासका साथ विद्यालय बन्द गर्ने निर्णय गरिएको सरकारी अधिकारीहरूले जनाएका छन्।
देशका ऊर्जा मन्त्रीले आइतबार एक दिनका लागि मात्र इन्धनको सञ्चय रहेको जानकारी दिएका थिए।
देशमा आर्थिक सङ्कट थप जटिल बन्दै जाँदा सरकारले इन्धन आयात गर्न नसकेकाले सार्वजनिक यातायात ठप्प जस्तै भएको छ।
श्रीलङ्काका अधिकांश पेट्रोल पम्पहरूमा निकै लामो लाइन देखिने गरेको छ।
श्रीलङ्काले पेट्रोल र डिजेल बचत गर्न भन्दै अत्यावश्यक सेवाबाहेक सबै क्षेत्रका लागि इन्धन बिक्री दुई साता रोक्ने घोषणा गरेको थियो।







