काँग्रेसका कारण स्थानीय तहमा लक्ष्य अनुसार नतिजा आउन सकेन : माओवादी केन्द्र « प्रशासन
Logo ५ जेष्ठ २०८१, शनिबार
   

काँग्रेसका कारण स्थानीय तहमा लक्ष्य अनुसार नतिजा आउन सकेन : माओवादी केन्द्र


१९ असार २०७९, आइतबार


काठमाडौँ । नेकपा माओवादी केन्द्रले पार्टी भित्रैबाट भएको अन्तर्घात र गठबन्धनका कारण लक्ष्यअनुसार नतिजा आउन नसकेको निष्कर्ष निकालेको छ ।

गठबन्धनमा पनि विशेषगरी काँग्रेस इमान्दार नहुँदा नतिजा प्रभावित भएको माओवादीको बुझाइ छ । आइतबारदेखि सुरु भएको माओवादी केन्द्रको केन्द्रीय समिति बैठकलाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले गठबन्धन अपेक्षा गरे जस्तो सफल हुन नसकेको बताए ।

माओवादीलाई हराउन गठबन्धनकै दलहरू लागिपरेको भन्दै प्रचण्डले माओवादी बलियो भएको ठाउँमा अन्य दलले खेलेको र कमजोर भएको ठाउँमा कुनै सहयोग नभएको बताए । रुकुम, रोल्पा, कालिकोट जस्ता जिल्लाहरूमा अरू दल एकातिर र माओवादी एक्लै एकातिर हुनुपरेको पनि प्रचण्डले बताएको एक केन्द्रीय सदस्यले बताए ।

‘हामीले गठबन्धनको धर्म र कर्मअनुसार काम गर्‍यौँ । केन्द्रीय समझदारीअनुसार जानेमा हामी इमानदार देखियौँ’, प्रचण्डले भने, ‘उनीहरू (काँग्रेसलगायतका गठबन्धनका दलहरू) फाइदा जे हुन्छ त्यसैतिर लागे । विशेषगरी काँग्रेस त्यसमा अगाडि देखियो ।’

प्रचण्डले केन्द्रीय समिति बैठकमा अब गठबन्धनलाई कसरी अघि लैजाने भनेर छलफल हुने पनि बताए । उनले गठबन्धनलाई प्रभावकारी बनाउन सम्भव छ कि छैन भनेर पनि छलफल गरिने बताए । प्रचण्डले पार्टीभित्रका अन्तर्घातीहरूलाई पनि कारबाही गरिने बताए ।

पार्टीले १५० देखि १७५ को बीचमा स्थानीय तह निर्वाचनमा नेतृत्व जित्ने अपेक्षा लिएपनि अन्तर्घात र गठबन्धनका कारण सफल हुन नसकिएको बताए । तर, नतिजा तेस्रो स्थानमा भएपनि मत भने सुधारिएर आएको प्रचण्डको भनाई थियो ।

अहिले भएका कमीकमजोरीलाई सुधारेर अघि बढ्ने हो भने आगामी निर्वाचनमा पार्टी कम्युनिस्टहरूको पहिलो नम्बरमा आउन सक्ने प्रचण्डले दाबी गरेका छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस