बाढीपीडित कैलालीका किसानलाई राहत रकम हस्तान्तरण « प्रशासन
Logo ६ बैशाख २०८१, बिहिबार
   

बाढीपीडित कैलालीका किसानलाई राहत रकम हस्तान्तरण


१८ असार २०७९, शनिबार


काठमाडौँ । गत वर्ष कात्तिक महिनामा आएको बाढीले पाकेको धान खेती गुमाएका कैलालीका बाढी पीडित किसानलाई राहत वितरण थालिएको छ ।

गत वर्ष बाढीबाट पीडित बनेका किसानले क्षतिपूर्ति स्वरूप राहत रकम पाइरहेका छन् । प्रदेश सरकारले उपलब्ध गराएको राहत रकम भजनी नगरपालिकाले वितरण सुरु गरेको छ ।

तयारी धान बाली भित्र्याउने बेला गत वर्ष असोज ३१ देखि कात्तिक २ गतेसम्म आएको वर्षापछिको बाढीले पीडित बनेका किसानलाई क्षतिको आधारमा राहत रकम दिन सुरु भएको भजनी नगरपालिका कृषि शाखा प्रमुख कमल चौधरीले बताए ।

“भजनीमा १० हजार किसानको धान बाली नोक्सानी भएको छ । किसानलाई क्षतिका आधारमा राहत दिन थालिएको छ”, उनले भने, “क्षतिका आधारमा प्रदेश सरकारले राहत उपलब्ध गराएको छ । किसानलाई क्षतिको आधारमा १० कट्ठाभन्दा कम जमिन क्षति भएकालाई प्रतिकट्ठा रु ३१५, ११ देखि ६० कट्ठासम्म क्षति भएकालाई रु १२५, र ६० कट्ठाभन्दा माथि क्षति भएका किसानलाई रु ७५ प्रति कट्ठा रकम वितरण थालिएको छ ।”

एक किसानलाई रु ५५ हजारभन्दा बढी नहुने गरी राहत रकम उपलब्ध गराइरहेको नगरपालिकाले जनाएको छ । नगरपालिकाले अहिलेसम्म रु एक करोड ४० लाख किसानको खातामा पठाइसकेको र असार २० गतेसम्म पीडित सूचीकृत सबै किसानको खातामा रकम पठाइसक्ने गरी काम गरिरहेको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस