सुदूरपश्चिम : प्रदेशसभा बैठक स्थगित « प्रशासन
Logo २३ बैशाख २०८१, आइतबार
   

सुदूरपश्चिम : प्रदेशसभा बैठक स्थगित


प्रशासन संवाददाता

१६ असार २०७९, बिहिबार


धनगढी । सुदूरपश्चिम प्रदेश सरकारले ल्याएको आगामी आर्थिक वर्ष २०७९/८० को बजेटमाथि छलफल गर्न आज (बिहीबार) बोलाइएको प्रदेशसभाको बैठक पनि स्थगित भएको छ ।

सत्तारुढ गठबन्धन र प्रमुख प्रतिपक्षी नेकपा एमालेसहितका दलका प्रदेशसभा सदस्यहरुले आर्थिक अनुशासनको उल्लङ्घन गरेर बजेट ल्याएको आरोप लगाउँदै संशोधन गर्नुपर्ने अडान राखेपछि प्रदेशसभा बैठक अनिश्चितकालका लागि स्थगित गरिएको हो ।

प्रदेशसभा सदस्यहरुकै असहमतिका कारण १२ जेठमा बस्न नसकेको बैठक सभामुख अर्जुनबहादुर थापाले बिहीबार दिउँसो ३ बजेका लागि बोलाएका थिए तर कार्यव्यवस्था परामर्श समितिको बैठकमा सहमति नजुटेपछि अनिश्चितकालका लागि बैठक स्थगित गरिएको प्रदेशसभा सचिवालयले जनाएको छ ।

कार्यव्यवस्था परामर्श समितिको बैठकमा सहभागी सत्तारुढ नेपाली काँग्रेस संसदीय दलका प्रमुख सचेतक भरतबहादुर खड्काले बजेट संशोधन गर्नुपर्ने माग सरकारले सम्बोधन नगरेसम्म प्रदेशसभाको बैठक सञ्चालन गर्न नसकिने अडान राखेका थिए ।

उनकाअनुसार बिहीबारको बैठकमा सहभागी सबै दलले एकै स्वरमा जसरी पनि बजेट संशोधन गरिनुपर्ने अडान लिएपछि प्रदेश सरकारको आग्रहमा बैठक अनिश्चितकालका लागि स्थगित भएको हो ।

बैठकमा प्रमुख विपक्षी नेकपा एमाले र जनता समाजवादी पार्टी सहभागी थिएनन् । पूर्व भौतिक पूर्वाधार विकास मन्त्री समेत रहेका प्रदेशसभा सदस्य पठानसिंह बोहराले धनगढीमा कोही पनि सांसद उपस्थित नभएका कारणले बैठकमा सहभागी नभएको बताउँदै बजेट संशोधनको एजेन्डामा एमाले स्पष्ट रहेको बताए ।

असार १ गते प्रदेशका आर्थिक मामिला मन्त्री प्रकाशबहादुर रावलले प्रदेशसभामा प्रस्तुत गरेको अगामी आर्थिक वर्ष २०७९/८० को बजेटमाथि छलफल गर्न ८ असारमा प्रदेशसभाको बैठक बोलाइएको थियो तर प्रदेशसभा सदस्यहरुको विरोधका कारण बैठक बस्न नसकेपछि १२ गतेका लागि सारिएको थियो ।

प्रदेशसभा सदस्यहरुले बजेट संशोधनको अडान कायमै राखेपछि बिहीबारका लागि बोलाइएको बैठक तेस्रो पटक अनिश्चितकालका लागि स्थगित गरिएको हो ।

Tags :
प्रतिक्रिया दिनुहोस