पोखरामा महानगर प्रमुख र प्रशासकीय अधिकृतको भेला « प्रशासन
Logo ५ जेष्ठ २०८१, शनिबार
   

पोखरामा महानगर प्रमुख र प्रशासकीय अधिकृतको भेला


१५ असार २०७९, बुधबार


कास्की । देशका छ वटै महानगरका प्रमुख र प्रमुख प्रशासकीय अधिकृतको भेला पोखरामा हुने भएको छ । पोखरा महानगरपालिकाको आयोजनामा आगामी साउन पहिलो साता भेला आयोजना गरिएको छ ।

भेलामा प्रदेश सरकार र केन्द्र सरकारसँगको सम्बन्ध महानगरपालिका प्रमुखहरूबीच अनुभव आदान–प्रदान र विविध योजनाका विषयमा छलफल हुने पोखरा महानगर प्रमुख धनराज आचार्यले बताए । उनले भने, ‘हामीले साउनको पहिलो हप्ता पोखरामा भेला आयोजना गरेका छौँ । सबै आउने निश्चित भइसकेको छ ।’

भेलाले महानगरबीच अनुभव आदान–प्रदानमा सहयोग पुग्ने र विकास निर्माणलगायत सङ्घ र प्रदेश सरकारसँगको सम्बन्धलाई अझ कसरी अगाडि बढाउने भन्ने विषयमा पनि छलफल हुने आचार्यले जानकारी दिए ।

यसैबीच पोखरा महानगरका प्रमुख आचार्य र काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन्द्र शाहबीच भेटवार्ता भएको छ । काठमाडौँ महानगरपालिका कार्यालयमा मङ्गलबार उनीहरुबीच भेटवार्ता भएको हो । भेटका अवसरमा बजेट निर्माण, राजस्व सङ्कलन तथा अन्य समसामयिक विषयमा छलफल भएको बताइएको छ ।

प्रमुख आचार्यले मङ्गलबार नै काठमाडौँमा राष्ट्रिय आविष्कार केन्द्रका अध्यक्ष महावीर पुनसँग पनि भेटवार्ता गरेका छन् । आविष्कार केन्द्रमा आविष्कार भएका सामग्री पोखराको हितमा कसरी प्रयोग गर्न सकिन्छ भन्ने विषयमा छलफल भएको थियो ।

‘आविष्कार केन्द्रका अध्यक्ष पुनसँगको भेटमा उहाँहरुका उत्पादनलाई हामीले कसरी उपयोग गर्न सक्छौँ । महानगरको हित हुने उपकरणको विषयमा जानकारी मागेका छौँ । उहाँले रचनात्मक सुझाव दिनुभएको छ’, प्रमुख आचार्यले भने ।

Tags :
प्रतिक्रिया दिनुहोस