भारतमा मनसुनको प्रकोप, थप २६ जनाको मृत्यु « प्रशासन
Logo ८ बैशाख २०८१, शनिबार
   

भारतमा मनसुनको प्रकोप, थप २६ जनाको मृत्यु


७ असार २०७९, मंगलबार


गुवाहाटी । भारतमा मनसुनको बाढी र चट्याङमा परी कम्तीमा पनि २६ जनाको मृत्यु भएको छ । छिमेकी राष्ट्र बङ्गलादेशमा लाखौँ मानिस यस प्रकोपको मारमा परेका अधिकारीहरूले जनाएका छन् ।

भारत र बङ्गलादेशमा बाढी एक नियमित खतराको रुपमा रहेको छ । भारतको उत्तरपूर्वी राज्य आसाममा पहिरोमा परी तीन जनाको मृत्यु भएको छ भने बाढीमा डुबेर छ जनाको मृत्यु भएको प्रकोप व्यवस्थापन अधिकारीहरूले बताएका छन् ।

पूर्वी राज्य बिहारमा आँधीका कारण चट्याङ लागेर कम्तीमा १७ जनाको मृत्यु भएको स्थानीय प्रकोप व्यवस्थापन मन्त्री रेणु देवीले जानकारी दिइन् । आसाम लगातार बाढीको चपेटामा परेको छ ।

राज्यका ३३ जिल्लाका ५ हजार १४० गाउँहरू बढ्दो पानीले डुबेका छन् । एक लाखभन्दा बढी गाउँले राहत आश्रयमा शरण लिएका छन् । राज्य पहिलो पटक अप्रिलमा प्रभावित भएको थियो । हाल पुनः वर्षाको कारण आएको बाढीमा परी ४४ जनाको मृत्यु भएको छ ।

छिमेकमा पर्ने मेघालय राज्यमा पहिरो र बगेको खोलाले सडक डुबेपछि गत बिहीबारदेखि कम्तिमा १६ जनाको मृत्यु भएको छ ।मनसुन आँधीले बङ्गलादेशमा विनाशकारी बाढी पनि फैलाएको छ ।

लाखौँ अलपत्र परेका र दर्जनौँको मृत्यु भएको छ । सोमबार, बाढीको पानी सिल्हेटको उत्तरपूर्वी जिल्लाबाट बिस्तारै कम हुँदै गइरहेको थियो । यद्यपि लाखौँ अझै पनि बेवारिसे भएका जिल्लाका मुख्य प्रशासक मोशर्रफ हुसेनले बताएका छन् ।

आश्रयस्थलहरु प्रभावित मानिसहरूले भरिएका छन् । त्यहाँ खाना र पिउने पानीको ठुलो सङ्कट छ । धेरै घर फर्कन डराउँछन् भने धेरैले बाढीको पानीमा आफ्नो घर गुमाएका छन्,’ उनले एएफपीलाई बताएका छन् ।

जमालपुर जिल्लामा, एक आठ वर्षीया बालिकालाई डुबानमा परेको घरको आँगनबाट बगाएको थियो र पछि मृत फेला परेको प्रहरी अधिकारी अमिनुल इस्लामले एएफपीलाई बताएका छन् ।

दक्षिणपूर्वी चटगाउँ पहाडी जिल्लाहरूमा पनि भारी वर्षा जारी रह्यो जसले बन्दरगाह सहरमा जलमग्नता र पहिरोको जोखिम बढाएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस