काठमाडौँ । अर्थमन्त्री जनार्दन शर्मा र विश्व बैङ्ककी प्रबन्ध निर्देशक मारी अल्का पान्जेस्तुबीच शिष्टाचार भेट भएको छ ।
अर्थ मन्त्रालयमा आइतबार बिहान ११ बजे भएको भेटमा मन्त्री शर्माले विश्व बैङ्कसँग लामो समयदेखि रही आएको सम्बन्ध र विकास साझेदारीको स्मरण गर्दै सहयोगको प्रशंसा गरेका थिए ।
भेटमा उनले भने, ‘नेपालको विकास प्रयासमा विश्व बैङ्क लामो समयदेखि एउटा भरपर्दो साझेदार संस्थाको रूपमा रहिआएको छ ।’ विश्व बैङ्कले कोभिड–१९ पछिको परिस्थितिसँग जुध्न प्रदान गरेको १ सय २२ मिलियन अमेरिकी डलर बराबरको वित्तीय सहयोगका लागि मन्त्री शर्माले धन्यवाद दिएका थिए ।
केही महत्त्वपूर्ण आयोजनाहरू सम्झौताको चरणमा रहेको र हाल सञ्चालित आयोजनाहरू निक्कै महत्त्वपूर्ण र दूरगामी प्रकृतिको रहेको मन्त्री शर्माको भनाइ थियो ।
‘विश्व बैङ्कसँगको वित्तीय सहकार्यमा सञ्चालित आयोजनाहरू समयमै सम्पन्न गरी सोको लाभ जनतालाई हस्तान्तरण गर्न हामी सबैको प्रयास रहनेछ’ मन्त्री शर्माले भने ।
भेटमा विश्व बैङ्ककी प्रबन्ध निर्देशक पान्जेस्तुले नेपालको विकास साझेदारको रूपमा सहभागी हुन पाउँदा खुसी लागेको बताउँदै आगामी दिनमा पनि वित्तीय सहयोगमार्फत नेपालको समग्र विकास प्रणालीमा सघाउ पुर्याउने बताएकी थिइन् ।