सुरु भयो आईजीपी नियुक्ति विरुद्धको मुद्दामा सुनुवाइ « प्रशासन
Logo ४ बैशाख २०८१, मंगलबार
   

सुरु भयो आईजीपी नियुक्ति विरुद्धको मुद्दामा सुनुवाइ


३० जेष्ठ २०७९, सोमबार


काठमाडौँ । नेपाल प्रहरीको आईजीपी नियुक्ति विरुद्धको मुद्दाको सुनुवाइ सुनुवाइ सर्वोच्च अदालतमा सुरु भएको छ । कामु प्रधान न्यायाधीश दीपककुमार कार्की र न्यायाधीश कुमार चुडालको इजलासमा सुनुवाइ सुरु भएको हो । अहिले अधिवक्ता लीलामणि पौडेलले बहस गरिरहेका छन् ।

वैशाख १८ मा मन्त्रिपरिषद्ले धीरजप्रताप सिंहलाई प्रहरी महानिरीक्षक नियुक्त गर्ने निर्णय गरेको थियो । वरिष्ठता मिचेर मन्त्रिपरिषद्ले सिंहलाई आईजीपी नियुक्त गरेको भन्दै प्रतिस्पर्धी एआईजी विश्वराज पोखरेलले सर्वोच्चमा रिट दायर गरेका थिए ।

मुद्दाको प्रारम्भिक सुनुवाइ गर्दै वैशाख २२ मा न्यायाधीश सुष्मालता माथेमाले जेठ १७ मा पूर्ण सुनुवाइका लागी पेस गर्न आदेश गरेकी थिइन् । जेठ १७ मा एआईजी बढुवा विरुद्ध पूर्व डीआईजी ईश्वरबावु कार्की समेतले दायर गरेको रिट लगाउमा राखेर न्यायाधीश विश्वम्भर प्रसाद श्रेष्ठ र कुमार चुडालको बेन्चमा पेस तोकिएको थियो । तर, प्रत्यर्थी धीरजप्रताप सिंह, रवीन्द्रबहादुर धानुक र वसन्त पन्तको म्याद तामेल नभएको देखिएपछि जेठ १७ मा सुनुवाइ भएको थिएन ।

न्यायाधीश श्रेष्ठ र चुडाल सम्मिलित इजलासले जेठ ३० मा मुद्दाको अन्तिम सुनुवाइ गर्न पेशी तोकेका थिए । सोमबार आईजीपी नियुक्ति विरुद्ध परेको रिट र पूर्व डीआईजीहरू घनश्याम अर्याल, ईश्वरबावु कार्की र प्रकाशजंग कार्कीले एआईजीपी बढुवा विरुद्ध हालेको रिट सँगै सुनुवाइ भएको छ ।

घनश्याम अर्यालसहित ३ जना डीआईजीले अहिलेका आईजीपी धीरजप्रताप सिंह र रवीन्द्रबहादुर धानुकलाई बरियता मिचेर बढुवा गरेको भन्दै रिट दायर गरेका थिए ।

Tags :
प्रतिक्रिया दिनुहोस