राप्रपासँग कार्यगत एकता गर्न कमल थापाको यस्तो छ सर्त ! « प्रशासन
Logo २० बैशाख २०८१, बिहिबार
   

राप्रपासँग कार्यगत एकता गर्न कमल थापाको यस्तो छ सर्त !


२२ जेष्ठ २०७९, आइतबार


काठमाडौँ । राप्रपा नेपालका अध्यक्ष कमल थापाले राजेन्द्र लिङदेन नेतृत्वको राप्रपाप्रति लक्षित गर्दै इतिहास बनेको राजसंस्था पुनः स्थापनाको एजेण्डा बोकेर नहिँड्न सुझाव दिएका छन् ।

अब राजसंस्था पुनः स्थापना हुने सम्भावना शून्यमा पुगेकाले त्यस्ता एजेण्डालाई बोकेर हिँड्नुको कुनै अर्थसमेत नरहेको थापाको भनाइ थियो ।

आज विराटनगरमा पत्रकारसँग उनले राप्रपासँग कार्यगत एकताको सम्भावना जीवित रहेको बताए ।

थापाले भने, ‘राजसंस्थाको एजेण्डा छाडेर आए कार्यगत एकताका लागि राप्रपा नेपाल सधैँ तयार छ ।’

संघीयतासम्बन्धी प्रसङ्गमा उनले प्रदेश सरकारको औचित्य नरहेको दोहोर्‍याएका छन् । केन्द्र र स्थानीय सरकार अझ शक्तिशाली बनाएर लगेमा प्रदेश तहको आवश्यकता नरहेको थापाको भनाइ छ ।

‘अहिले देशमा देखा पारेको समस्या मध्ये एक समस्या संरचनागत त्रुटि हो । संरचनागत सुधारका लागि सङ्घीयताको वर्तमान परिवर्तनलाई सुधार गरी केन्द्रमा एउटा बलिया सरकार र स्थानीय सरकार कायम गर्न उपयुक्त हुन्छ । बीचको प्रदेश सरकार वा प्रदेश तहको संरचनाको आवश्यकता छैन ’, उनले भने ।

प्रजातन्त्र स्थापनासँगै मुलुक देशी विदेशी शक्तिको क्रियास्थाल बनेको भन्दै यस विषयमा राज्य संवेदनशील नभएर दुर्घटना निम्तिन सक्ने उनले दाबी गरे ।

Tags :
प्रतिक्रिया दिनुहोस