बंगलादेशको एक गोदाममा विस्फोट, कम्तीमा १६ जनाको मृत्यु, ४५० घाइते « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

बंगलादेशको एक गोदाममा विस्फोट, कम्तीमा १६ जनाको मृत्यु, ४५० घाइते


२२ जेष्ठ २०७९, आइतबार


काठमाडौँ । बंगलादेशको दक्षिणपूर्वी सहर सीताकुण्डमा एउटा गोदाममा भएको विस्फोटमा कम्तीमा १६ जनाको मृत्यु भएको छ। विस्फोटमा परेका ४५० जना घाइते भएका छन्।

कन्टेनरबाट सामान भण्डारण गर्ने ठाउँमा विस्फोट भएको हो। तर विस्फोटको कारण भने खुल्न सकेको छैन। सीताकुण्ड सहर बंगलादेशको दोस्रो ठूलो सहर चटगाउँबाट करिब ४० किलोमिटर दूरीमा पर्छ।

गोदाममा भएको विस्फोटपछि सहरको एउटा अस्पताल घाइतेहरूले भरिएको स्थानीय सञ्चारमाध्यमले जनाएका छन्। घाइते हुनेमा गोदामका कर्मचारीका साथै दमकलकर्मी र प्रहरीसमेत छन्।

विस्फोटको लामो समयपछि दमकल र सुरक्षाकर्मीले आज बिहान मात्रै आगो नियन्त्रणमा लिएका छन्। यो गोदाममा झण्डै ६ सय मानिसले काम गर्दै आएका छन्। बङ्गलादेशमा आगलागीका घटना धेरै नै हुने गरेका छन्।

गत वर्ष एउटा दक्षिणी सहरमा भएको आगलागीमा कम्तीमा ३९ जनाको मृत्यु भएको थियो । गत वर्ष नै राजधानी ढाका नजिकको रुपगञ्ज बजारमा रहेको एक कारखानामा आगलागी हुँदा ५२ जनाको मृत्यु भएको थियो।

Tags :
प्रतिक्रिया दिनुहोस