तिलोत्तमाले ठड्याएको ‘पैसा फल्ने’ टावर, जसले दिनेछ वर्षेनी ३६ लाख आम्दानी « प्रशासन
Logo १२ बैशाख २०८१, बुधबार
   

तिलोत्तमाले ठड्याएको ‘पैसा फल्ने’ टावर, जसले दिनेछ वर्षेनी ३६ लाख आम्दानी


१८ जेष्ठ २०७९, बुधबार


रुपन्देही । भर्खरै सकिएको स्थानीय तह निर्वाचनबाट आएका देशभरका जनप्रतिनिधिहरू यति बेला आ-आफ्ना प्राथमिकता निर्धारण गर्न व्यस्त छन् । उनीहरू आउनु अघि, पाँच वर्ष स्थानीय सरकार हाँकेका जनप्रतिनिधि भने चर्चाको दायराबाट लगभग बाहिर गइसके । भलै भूतपूर्व भइसकेका जनप्रतिनिधि यति बेला चर्चामा नरहेका होउन्, उनीहरूका कतिपय काम भने आम नेपालीका मानसपटलमा ताजै छन् । र, त्यो चर्चामा एक हिसाबले भन्दा राम्रो मानक स्थापित गर्ने कामभन्दा विवाद र आलोचनाका विषय ज्यादा छन् । जस्तो कि, पछिल्लो पाँच वर्ष स्थानीय सरकारहरू सबभन्दा धेरै आलोचित बनेको एउटा साझा जस्तो विषय थियो । त्यो हो– ठुलो बजेट खर्च गरेर अग्ला डाँडामा ठड्याइएका ‘भ्यूटावर’ ।

नेपालको पहाडका डाँडाकाँडा आफैमा ‘नेचुरल भ्यूटावर’ हुन्, जहाँबाट सुन्दर दृश्यावलोकन गर्न सकिन्छ । तर, कैयौँ स्थानीय तहले पर्यटन विकास गर्ने भन्दै तिनै डाँडामाथि कङ्क्रिटका टावर ठड्याए । अरू कैयौँ सिर्जनात्मक काममा खर्च गर्न सकिने बजेट त्यसमै खन्याए । र, त्यही कारण आमरुपमा समेत आलोचनाको तारो बने ।

अग्ला पहाडी डाँडाकाँडा नभएको, तराईको समथर भू-भाग मात्र रहेको रुपन्देहीको एउटा स्थानीय तहले पनि त्यस्तै एउटा टावर खडा गरेको छ । तर, नाम भने यसको ‘भ्यूटावर’ होइन । र, यसले त्यस्तो आलोचना पनि भोगेको छैन । बरु यो त्यस्तो टावर बनेको छ जसले तिलोत्तमा नगरमा बेग्लै आशा जगाएको छ । यो तिलोत्तमा नगरपालिकाले निर्माण गरेको एउटा महत्त्वाकाङ्क्षी, त्यही टावरको कुरा हो ।

पर्यटनको केन्द्रमा दिगो आम्दानीको स्रोत बन्ने टावर
पहाडी जिल्लाका कैयौँ स्थानीय सरकारले कङ्क्रिटका ‘भ्यूटावर’ ठड्याउँदा यसलाई जसरी पर्यटन विकासका लागि भएको तर्क गर्थे, तिलोत्तमाले यो टावर बनाउँदा पनि केन्द्रमा पर्यटनलाई नै राखेको छ । फरक चाहिँ के भने अरूका निम्ति पर्यटनको विकास गर्नु प्राथमिकताको विषय थियो, तिलोत्तमा आफैमा पर्यटनको केन्द्र बनिसकेको ठाउँ हो ।

हो, पर्यटनको केन्द्र यस कारण पनि कि रुपन्देही जिल्ला नै संसारभरका बौद्धमार्गीहरुको आस्थाको केन्द्र हो । शान्तिका अग्रदूत गौतम बुद्धको जन्मस्थल भएकाले विश्वभरका शान्ति पक्षधर पनि यहाँ पुग्नै पर्ने ठान्छन् । त्यसैले त यहाँ विश्वभरका पर्यटकको आगमन हुन्छ । केही समयअघि मात्र भारतका प्रधानमन्त्री नरेन्द्र मोदी बुद्ध जयन्तीको अवसर पारेर सिधै हेलिकप्टरमा आएर लुम्बिनीमै अवतरण गरेका थिए ।

यही महत्त्व बुझेरै तिलोत्तमा नगरपालिकामा २०७४ को निर्वाचनबाट आएका जनप्रतिनिधिले एउटा महत्त्वाकाङ्क्षी, नाम तोकेरै भन्दा बहूद्देश्यीय टावर निर्माण गर्ने निर्णय गरेका थिए । हुन त पछिल्लो पाँच वर्षमा तिलोत्तमा अरू धेरै विकासका काममा पनि उदाहरणीय बनेको छ । तर, यो टावरको महत्त्व यस कारण पनि धेरै छ कि यसले बर्सौँ पछिसम्म त्यस्ता विकासका काम गर्न नगरपालिकालाई दिगो आर्थिक स्रोत जोहो गरिदिने छ ।

रुपन्देही जिल्ला मात्र होइन, लुम्बिनी प्रदेशकै महत्त्वपूर्ण पर्यटकीय क्षेत्रका रूपमा रहेको वन बाटिका क्षेत्रमा बनेको छ, यो टावर । र, यहाँ बढी जसो आन्तरिक पर्यटककै ओइरो लाग्छ, त्यसपछि आउँछन् भारतीय पर्यटक । कोलाहलबाट पर, शान्त जङ्गल क्षेत्रमा अवस्थित वन वाटिका क्षेत्रको पर्यटनलाई टेवा पुर्‍याउनकै लागि नगरपालिकाले सुरुमा यो टावर बनाउने परिकल्पना अघि सारेको थियो ।

तिलोत्तमा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत जीवन ज्ञवाली वनवाटिका मात्र नभएर पुरै तिलोत्तमा नगर क्षेत्रको पर्यटन उकास्न बहुउद्देश्यीय टावर निर्माण गरिएको बताउँछन् । ‘हो, कैयौँ स्थानीय तहले भ्यूटावर ठड्याए भनेरै ठुलो आलोचना खेप्नुपर्‍यो । तर, हामीले यहाँ निर्माण गरेको टावर अन्यत्रको जस्तो दृश्यावलोकन गर्नलाई मात्र बनाइएको होइन, यसको त्योभन्दा धेरै महत्त्व छ,’ ज्ञवालीले भने, ‘मुख्य कुरा त नगरपालिकाको दिगो आम्दानीको स्रोत के हुनसक्छ भन्ने अध्ययन गरेर हामीले यो टावर बनाउने निधो गरेका हौँ, जुन आम्दानीबाट नगरपालिकाले आवश्यक अरू विकासका काम गर्न सकोस् ।’

विरोध त यो टावर बनाउने क्रममा पनि नभएको होइन । विरोधीहरूले भ्यूटावर बनाएको भनेर नगरपालिकाको आलोचना पनि गरे । तर, क्रमशः यसको दीर्घकालीन लाभ बुझेपछि त्यो विरोध आफै मत्थर हुँदै गयो । अनि टावर ठडियो पनि ।

गत चैत १५ गते पूर्व प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली वन बाटिकामै पुगेर यो टावर उद्घाटन गरे । त्यस क्रममा ओलीले यो टावर आफैमा विशेष रहेको, अरू ठाउँका भ्यूटावर जस्तो नभएको बताएका थिए ।

उद्घाटन नै भइसके पनि यो टावर सञ्चालनमा आइसकेको भने छैन । मुख्य निर्माण सकिए पनि रंगरोगन लगायतका काम बाँकी छन् । तिलोत्तमा नगरपालिकाको पूर्ण स्वामित्व रहेको टावर निर्माण हेरिरहेका नगरपालिकाका साइट इन्जिनियर प्रदीप वन अरू सबै काम सकिएको र अहिले रंगरोगनलगायतका काम भइरहेको बताउँछन् । आर्थिक वर्ष २०७४/७५ मा ठेक्का सम्झौता भएर अघि बढेको निर्माणको काम ठेकेदार कम्पनी, प्राकृतिक निर्माण सेवाले निर्धारित समयमै पूरा गरे पनि सम्झौता अनुसारका पार्क, बगैँचा, स्विमिङ पुल निर्माणलगायत पर्यटकलक्षित संरचना निर्माण हुन भने बाँकी नै छ ।

यस्ता काम बाँकी भए पनि तिलोत्तमा नगरपालिका–२ स्थित सङ्कर नगर वन विहार तथा अनुसन्धान केन्द्र (जसलाई वन वाटिका भनिन्छ)भित्र निर्मित बहुउद्देश्यीय टावरलाई लिजमा दिन नगरपालिकाले अन्तिम तयारी गरेको छ । प्रमुख प्रशासकीय अधिकृत ज्ञवालीका अनुसार आउँदो साउन १ गतेदेखि लिजमा दिने गरी केही दिनमै सम्झौता गर्ने तयारी गरिएको छ । ‘नगरपालिकाले १० वर्षलाई व्यावसायिक प्रयोजनमा लिने संस्था, व्यक्तिसँग लिज सम्झौता गर्न लागेको हो,’ उनले भने, ‘अहिले वार्षिक ३६ लाख रुपैयाँमा लिज सम्झौता हुनेछ, यसको प्रचारप्रसार र व्यावसायिक कारोबारमा वृद्धि भएसँगै नगरपालिकाको आम्दानी पनि क्रमशः बढ्नेछ ।’

तयार भइसकेको लिज सम्झौता पत्रमा यो टावर सञ्चालनमा आइसकेपछि प्रत्येक २ वर्षमा १० प्रतिशतका दरले लिजबापतको रकम वृद्धि हुने उल्लेख छ । ‘सञ्चालनमा नआउँदै व्यवसायीहरू वार्षिक ३६ लाख रुपैयाँमा लिजमा लिन तयार भइसके, व्यवसाय बढेपछि नगरपालिकाको थप आम्दानी पनि बढ्ने छ,’ इन्जिनियर वनले भने, ‘दीर्घकालीन रूपमा यो अब नगरपालिकाको राम्रो आम्दानीको स्रोत बन्नेछ ।’

टावर निर्माणमा कूल १० करोड २४ लाख रुपैयाँ लगानी भएको छ जसको ७० प्रतिशत नगरपालिका र ३० प्रतिशत वन बाटिका (सङ्करपुर वन विहार तथा अनुसन्धान केन्द्र)ले लगानी गरेका छन् । लगानी अनुसार नै उनीहरूले यसबाट हुने आम्दानी प्राप्त गर्ने छन् ।

यस्तो छ महत्त्वाकाङ्क्षी टावर
तिलोत्तमा नगरपालिकाले आन्तरिक आम्दानीको स्रोतका निम्ति ठुलै आशा देखेर बनाएको टावर ११ तला अग्लो छ । यसको उचाइ १३४ फिट छ । १२ जना मानिस अट्न सक्ने क्षमतासहितको लिफ्ट जडान केही दिनमै हुँदै छ । भर्‍याङ भने बनिसके को छ । काठमाडौँको निर्माणाधीन (भूकम्पपछि निर्माण भइरहेको) धरहरापछि यसलाई सबभन्दा सुविधा सम्पन्न टावरका रूपमा चर्चा गर्ने गरिन्छ ।

यो टावर जम्मा २५ हजार १२२ वर्ग फिट क्षेत्रफलमा फैलिएको छ । यसको भुईँ तला ३ हजार ५९५ वर्ग फिट क्षेत्रफलमा छ । त्यहाँ ८ वटा अट्याच्ड बाथरुमसहितका सुविधाजनक कोठा छन् । घुम्न आउने आन्तरिक तथा बाह्य पर्यटकहरू शान्त जङ्गलमा दृश्यावलोकन गर्दै पारिवारिक वातावरणमा बास बस्न सक्ने सुविधा परिकल्पना गरेर यस्तो संरचना बनाइएको नगरपालिकाले जनाएको छ ।

टावररूपी यो भवनभित्र विभिन्न विषयमा अनुसन्धान गर्ने रिसर्च सेन्टरसमेत स्थापना गरिँदै छ । तल्लो तलामा व्यावसायिक प्रयोजनका लागि शोरुम राखिएको छ । ‘भुईँ तलादेखि सातौँ तलासम्म व्यावसायिक प्रयोजनमा लगाइनेछ, त्यसभन्दा माथि चाहिँ पर्यटकले हिँड्दै घुम्दै दृश्यावलोकन गर्न सक्ने गरी भवन बनाइएको छ,’ इन्जिनियर वनले भने, ‘रेस्टुरेन्टदेखि स्विमिङ पुल, बाल उद्यान र अन्य थुप्रै रमणीय स्थल त छुट्टै छँदै छन् ।’

दुई बिघा क्षेत्रफलसहितको ठाउँमा निर्मित टावरसँगै अन्य पूर्वाधारसमेत निर्माण हुँदै छन् र ती काम सम्पन्न भएपछि नगरपालिकाले थप योजना बनाएको छ । त्यो हो, व्यावसायिक प्रयोजनका लागि शोरुम राखिएको ठाउँमा स्थानीय कृषि उपज पनि राख्ने । त्यसले यहाँको कृषि उपजको बजारीकरणसँगै किसानलाई प्रत्यक्ष लाभ दिने छ । होटेल, रेस्टुरेन्ट, कफीसप, डिपार्टमेन्टल स्टोर, लाइब्रेरी लगायतका संरचना त टावरभित्र नै तयार हुँदै छन् ।

तिलोत्तमा नगरपालिकाको नाममै एउटा फरक विश्वास छ । पवित्र तथा प्राचीन नदी तिलोत्तमाबाट यसको नामकरण गरिएको हो । समुद्र सतहबाट १६० देखि १७५ मिटरको उचाइमा अवस्थित तिलोत्तमा नगरपालिका पूर्वमा रोहिणी नदी र देव दह नगरपालिका, पश्चिममा तिनाउ नदी र सियारी तथा शुद्धोदन गाउँपालिका, उत्तरमा बुटवल उपमहानगरपालिका एवं दक्षिणमा ओमसतिया गाउँपालिका र सिद्धार्थनगर नगरपालिकाका बिचमा छ । १२६.२ वर्ग किलोमिटर क्षेत्रफलमा फैलिएको नगरपालिकाको जनसङ्ख्या १ लाख २४ हजार छ । र, यो जनसङ्ख्याले आशा गरेको संरचना बनेको छ, बहूद्देश्यीय टावर ।

Tags :
प्रतिक्रिया दिनुहोस