बजेट परिमार्जन गर्नुपर्ने सांसदहरुको माग « प्रशासन
Logo २० बैशाख २०८१, बिहिबार
   

बजेट परिमार्जन गर्नुपर्ने सांसदहरुको माग


१७ जेष्ठ २०७९, मंगलबार


काठमाडौँ । प्रतिनिधिसभाका सांसदहरुले बजेट परिमार्जन गरी देशको स्रोतसाधन प्रयोग गरेर उत्पादनमुखी बजेट बनाउनुपर्नेमा जोड दिएका छन् ।

सभाको आजको बैठकमा आर्थिक वर्ष २०७९/०८० को प्रस्तुत बजेटमाथिको सैद्धान्तिक छलफलमा भाग लिने क्रममा सांसद राजेन्द्रकुमार केसी र सुरेशकुमार राईले बजेटमा आत्मनिर्भर अर्थतन्त्रको विकास गर्ने, आयातलाई प्रतिस्थापन गर्ने, शिक्षा, स्वास्थ्य, रोजगारी, पर्यटनलगायतलाई प्राथमिकताका साथ समावेश गरिएकोमा समावेश गरिनु सकारात्मक भएको बताए ।

सांसद पार्वत गुरुङले के बजेट समृद्ध नेपाल निर्माणका निम्ति ल्याइएको हो, राज्यलाई बलियो वा कमजोर बनाउने गरी ल्याइएको बजेट हो भन्दै प्रश्न गरे । उनले बजेट कुनै निश्चित व्यक्तिलाई खुसी बनाउने गरी ल्याइएको आरोप लगाए । डा. डिला सङ्ग्रौलाले राष्ट्रसेवक कर्मचारीको तलब वृद्धि, ६८ वर्षमै वृद्धाभत्ता, निर्यात बढाउने, उत्पादन वृद्धि गर्ने, कृषि, शिक्षा, स्वास्थ्य, पर्यटन बजेटको प्राथमिकता भएको बताइन् । उनले उद्योग, पर्यटनलगायतको क्षेत्रमा रोजगारी गुमाएकाप्रति रोजगारीका कार्यक्रम ल्याउनुपर्ने सुझाव दिइन् ।

सांसद सत्या पहाडीले विगतका वर्षहरुको भन्दा यस वर्षको बजेट उत्कृष्ट भएको बताउँदै कार्यान्वयनमा जोड दिइन् । सांसद डा .विजय सुब्बाले भ्रष्टाचार र जातीय भेद्भाव तथा छुवाछूत अन्त्यमा बजेटले ध्यान दिन नसकेको टिप्पणी गरे ।

सांसद मीनबहादुर विश्वकर्माले बजेटमा किसानका लागि पेन्सनको व्यवस्था गर्नु बजेटको मुख्य विशेषता भएको टिप्पणी गरे । उनले सिङ्गो दलित आन्दोलनले माग गरेको दलित समुदायको सर्वाङ्गीण विकासका लागि स्थापना गरिएको दलित विकास समितिलाई सक्रिय बनाउनुपर्ने सरकारसँग माग गरे । सांसद विमला विकले सरकारले समग्र मुलुकको विकासका निम्तिभन्दा पनि चुनाव केन्द्रित बजेट ल्याएको टिप्पणी गरे ।

सांसद विनाकुमारी श्रेष्ठले बजेट यथार्थपरकभन्दा पनि प्रचारमुखी भएको बताइन्। सांसद घनश्याम खतिवडाले बजेटले संविधानको मौलिक हकलाई सम्बोधन गर्न सकेको छैन भने। सांसद नवराज सिलवाल र खेमप्रसाद लोहनीले बजेट महत्वकांक्षी र चुनावमुखी भएको टिप्पणी गरे ।

Tags :
प्रतिक्रिया दिनुहोस