काठमाडौँ । पोखराबाट जोमसोमका लागि उडेको तारा एयरको विमान कहाँ दुर्घटना भएको भन्ने सेनाको टोलीले पनि पत्ता लगाउन सकेको छैन ।
मुस्ताङको घाँसा पोस्टबाट सेनाको पैदल टोली सम्भावित दुर्घटनास्थल खोज्दै गएको थियो । त्यस्तै, हेलिकोप्टरबाट पनि सैनिक टोली खोजीमा गएको थियो ।
आज (आइतबार) बिहान ९:५५ मा पोखराबाट मुस्ताङको जोमसोमका लागि उडेको तारा एयरको विमान बेपत्ता भएको थियो । विमान मुस्ताङको लेतेको आसपासमा नौलीकोटमा दुर्घटना भएको आशङ्का गरिएको थियो ।
सैनिक प्रवक्ता नारायण सिलवालले भने, पोखराबाट हाम्रो टोली साढे १ बजे टेकअफ भएको छ । रेस्क्यु टोलीसहित दुर्घटनास्थल पत्ता लगाउनका लागि हेलिकोप्टर त्यसतर्फ गएको हो । दुर्घटनास्थल पत्ता लागेमा उद्धार टोलीलाई त्यहीँ झार्नेछ । दुर्घटनास्थलको पुष्टि भएको छैन ।
नेपाली सेना पैदलमार्गबाट पनि सम्भावित दुर्घटनास्थल गएको तर दुर्घटनास्थल नभेटिएको प्रवक्ता सिलवालले भने । घटना भएको खबर आउने बित्तिकै मुस्ताङको घाँसाबाट ६२ जना सैनिकको फौज पैदल गएको थियो । त्यसले पनि पत्ता लगाउन सकेको छैन । सम्भावित २/३ ठाउँको पत्ता लगाउन भनेको थियो तर सकिएन । खोजिरहेको छ ।
सैनिक प्रवक्ता सिलवालका अनुसार मुस्ताङको मौसममा केही सुधार भएपछि काठमाडौँबाट उद्धारका लागि उडेर पोखरामा रोकिएको हेलिकोप्टर पनि सम्भावित दुर्घटनास्थलतर्फ गएको छ । काठमाडौँबाट गएको एमआई १७ हेलिकोप्टरमा गएको टोली पोखरामा बसेको थियो । मौसम सुधार भएर पोखराबाट टेकअफ भएको १० मिनेट भएको छ, उनले भने ।