स्थानीय निर्वाचनमा विपक्षीलाई सहयोग गरेको भन्दै बर्दिया एमालेले गर्‍यो १८ नेतालाई कारबाही « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

स्थानीय निर्वाचनमा विपक्षीलाई सहयोग गरेको भन्दै बर्दिया एमालेले गर्‍यो १८ नेतालाई कारबाही


११ जेष्ठ २०७९, बुधबार


रुपन्देही । नेकपा एमाले बर्दियाले स्थानीय तहको निर्वाचनमा आफ्नै पार्टीका नेताविरुद्ध लाग्ने १८ जना पार्टी कार्यकर्तालाई कारबाही गरेको छ ।

पार्टीका आधिकारिक उम्मेदवारविरुद्ध भ्रम सिर्जना गरी मतदातालाई दिग्भ्रमित गर्दै पार्टीको निर्णय विपरीत विपक्षी पार्टीलाई सघाएको आरोपमा १८ पार्टी कार्यकर्तालाई कारबाही गरिएको सो पार्टीद्वारा जारी विज्ञप्तिमा जनाइएको छ ।

पार्टी जिल्ला सचिव पदम ढकालले कारबाही परेकामध्ये केही सदस्यलाई स्पष्टीकरण सोधिएको, केहीलाई निलम्बन गरिएको र केहीलाई पार्टीको साधारण सदस्य नरहने गरी कारबाही गरिएको जनाएका छन् ।

बर्दिया एमालेले बारबर्दिया, गुलरिया र बढैयातालमा पार्टीकै नेता कार्यकर्ताहरुको यस्तो गतिविधिले एमालेका उम्मेदवार पराजित भएको निष्कर्ष निकालेको छ ।

पार्टीको कारबाहीमा पर्नेमा अधिकांश बारबर्दिया र गुलरियाका एमालेका नेता र कार्यकर्ता छन् । बढैयाताल गाउँपालिकाको हकमा कारबाही प्रक्रिया चाँडै गरिने सचिव ढकालले जनाएका छन् ।

उनका अनुसार गुलरिया नगरका सह इन्चार्ज रामबहादुर रावललाई पार्टीको साधारण सदस्य नरहने गरी निष्कासन गरिएको छ । उनी ०७४ को स्थानीय निर्वाचनमा गुलरिया—४ बाट वडाध्यक्ष भएका थिए ।

यसै गरी नगर इन्चार्ज धनेश कुमार यादवलाई सचिवालय सदस्य र नगर इन्चार्जबाट मुक्त गरिनुका साथै जिल्ला कमिटी सदस्यबाट निलम्बन गरिएको छ भने नगर उपाध्यक्ष पुष्पा वली, जिल्ला कमिटी सदस्य हिराबहादुर बिसी, जीवन पन्थी, पुनकला श्रीवास्तवलाई विभागीय जिम्मेवारीबाट मुक्त गरिएको छ ।

जिल्ला कमिटीका सल्लाहकार शङ्कर घिमिरे लगायतलाई पदबाट मुक्त गरी स्पष्टीकरण सोध्ने निर्णय गरिएको छ । पार्टीका जिल्ला स्तरीय नेताले अन्तर्घात भएकाले चुनावमा पराजित हुनु परेको दाबी गर्दै आएका छन् ।

गुलरिया, बारबर्दिया नगरपालिका र बढैयाताल गाउँपालिकामा यस पटकको स्थानीय निर्वाचनमा नेकपा एमालेका उम्मेदवार पराजित भएको छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस