आगामी पाँच वर्ष गर्व गर्न लायक काम गर्छु : दाहाल « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

आगामी पाँच वर्ष गर्व गर्न लायक काम गर्छु : दाहाल


१० जेष्ठ २०७९, मंगलबार


चितवन । भरतपुर महानगरपालिकाको मेयरमा दोस्रो कार्यकालका लागि निर्वाचित रेनु दाहालले यो आफ्नो अन्तिम कार्यकाल हुने बताएकी छन् ।

मङ्गलवार (आज) मत परिणाम सार्वजनिक भएपछि सञ्चार माध्यमसँग कुराकानी गर्दै उनले स्थानीय सरकार प्रमुखको रूपमा यो अन्तिम कार्यकाल हुने बताएकी हुन् ।

उनले भनिन्, ‘यो मेरो अन्तिम कार्यकाल हो, स्थानीय तहको नेतृत्वको रूपमा अन्तिम पटकका लागि अवसर पाएको छु, एक सेकेन्ड पनि खेर नफालेर म दिलो ज्यानले आफ्नो क्षमताले भ्याएसम्म काम गर्नेछु ।’

उनले आफूले तीन देखि सात हजार मत अन्तरले जित्ने अनुमान गरे पनि धेरै भरतपुरबासीले विश्वास गरेर १२ हजार भन्दा बढी मत अन्तरले जिताएको बताइन् ।

उनले भनिन्, ‘मेरो विगतको कामको अनुमोदन गरिदिनुभएको छ । आउने दिनमा पनि कहीँ कतै मेरो सक्रियतामा कमी हुन दिने छैन ।’

मेयर दाहालले भरतपुरको समस्या, आवश्यकता, प्राथमिका र जनताको भावनाको राम्रो अनुभव भएको भन्दै आगामी पाँच वर्ष गर्व गर्न लायक काम गर्ने बताइन् ।

आगामी पाँच वर्षमा भरतपुरका ठुला आयोजना सिटी हल, प्रशासकीय भवन निर्माण पूरा गर्ने, क्रिकेट रङ्गशाला निर्माण गर्ने र भरतपुरको ढल तथा फोहोर व्यवस्थापनको काम गर्ने मेयर उनले बताइन् ।

उनले भनिन्, ‘मेरो दोस्रो कार्यकाल शिक्षा, स्वास्थ्य र पूर्वाधार विकासमा केन्द्रित हुने छ ।’ उनले आफ्नो दोस्रो कार्यकालमा सबैको सहयोग पाउने आशा राखेको पनि बताइन् । उनले भनिन, ‘भरतपुरमा विकासमा राजनीतिक खिचातानी हिजो पनि थिएन, भोलि पनि हुने छैन, जसले गर्नुहुन्छ, उहाँलाई नै घाटा हो ।’

उनले भनिन्, ‘ मेरो यो कार्यकालको पहिलो निर्णय महिला र विपन्नमा लक्षित हुने छ ।’

Tags :
प्रतिक्रिया दिनुहोस