छानबिन समितिलाई सहयोग गर्न गृहको आग्रह « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

छानबिन समितिलाई सहयोग गर्न गृहको आग्रह


७ जेष्ठ २०७९, शनिबार


काठमाडौँ । केही दिनदेखि विभिन्न सामाजिक सञ्जालमा महिला हिंसा भएको भनी प्रकाशित भिडियोबारे अध्ययन गर्न बनेको छानबिन समितिलाई सहयोग गर्न गृह मन्त्रालयले सबैमा अनुरोध गरेको छ ।

मन्त्रालयले आज एक विज्ञप्ति जारी गरी यस्ता विषयमा शीघ्र छानबिनमार्फत सत्य तथ्य पत्ता लगाई दोषीलाई हदैसम्मको कारबाही गर्न नेपाल सरकार प्रतिबद्ध रहेको स्पष्ट पारेको छ ।

‘पछिल्लो घटनाका सम्बन्धमा प्रहरी वरिष्ठ उपरीक्षक वसन्तबहादुर कुँवरको संयोजकत्वमा छानबिन समिति गठन गरिएको र समितिबाट छानबिनसमेत सुरु भइरहेको अवस्था छ, उक्त समितिलाई अनुसन्धान कार्यमा सहयोग गर्नुहुन मन्त्रालय सबैमा अनुरोध गर्दछ’, गृह प्रवक्ता फडिन्द्रमणि पोखरेलद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

प्रहरीले शुक्रवार गठन गरेको उक्त छानबिन समितिमा प्रहरी उपरीक्षक कृष्ण कोइराला, प्रहरी नायब उपरीक्षक कोपिला चुँडाल, प्रहरी नायब उपरीक्षक हरि बस्नेत र प्रहरी निरीक्षक सपना खड्का रहेका छन् । समितिले शुक्रवारबाटै काम सुरु गरेको गृह मन्त्रालयले जनाएको छ ।

मन्त्रालयले उक्त सामग्रीका सन्दर्भमा बिहीबार प्रतिनिधिसभा बैठकमा सांसदबाट उठाइएको र सभामुखले रुलिङ गरेको तथा नागरिक समाजबाट कारबाहीका लागि प्रदर्शन एवं दबाबका सम्बन्धमा गृह मन्त्रालयको गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस