डिआइजी लोहनीद्वारा मनाङका मतदान केन्द्रको निरीक्षण « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

डिआइजी लोहनीद्वारा मनाङका मतदान केन्द्रको निरीक्षण


८ बैशाख २०७९, बिहिबार


मनाङ । गण्डकी प्रदेशका प्रहरी नायब महानिरीक्षक (डिआइजी) दिवेश लोहनीले मनाङका अति संवेदनशील मतदान केन्द्रको निरीक्षण गरेका छन् ।

उनले जिल्लाका अति संवेदनशील पाँच मतदान केन्द्रको निरीक्षण गरेका हुन् ।

स्थानीय तहको निर्वाचन नजिकिँदै गर्दा जिल्लाका मतदान स्थलको अवस्थाको विश्लेषण तथा आवश्यक सुरक्षा व्यवस्था मिलाउन लोहनी मनाङ आएका हुन् ।

विकट तथा संवेदनशील क्षेत्रमा शान्त र सुरक्षित तवरबाट मतदान गराउन उनले जिल्लास्थित सुरक्षा निकायलाई निर्देशन दिएका छन् ।

प्रमुख जिल्ला अधिकारी रवीन्द्रप्रसाद आचार्यका अनुसार मतदान स्थलमा आवश्यक सुरक्षा प्रबन्धनका लागि जिल्लामा रहेका २८ मतदान स्थललाई तीन तहमा बाँडिएको छ ।

पाँच मतदान स्थललाई अति संवेदनशीलमा राखिएको आचार्यले बताए । भौगोलिक विकटता, विगतको सुरक्षा विश्लेषण, राजनीतिक दलबीचको प्रतिस्पर्धा, सञ्चार, सामाजिक संरचनालगायत आधारमा पाँच मतदान स्थललाई अतिसंवेदनशिलमा राखिएको उनले बताए ।

पन्ध्र मतदान स्थललाई संवेदनशील तथा आठ मतदान स्थललाई सामान्यमा राखिएको छ ।

अति संवेदनशील र संवेदनशीलरुपमा वर्गीकरण गरिएका मतदान स्थलमा सोहीअनुसार सुरक्षा प्रबन्ध मिलाइने प्रजिअ आचार्यले बताए ।

सोहीअनुसार स्थानीय तहको निर्वाचनको दिन मतदान स्थलको सुरक्षा, मतपेटिका गणना स्थलसम्म सुरक्षितरुपमा लैजाने योजनासहित सुरक्षा प्रबन्ध मिलाइएको आचार्यले बताए ।

मनाङमा २८ मतदान केन्द्र निर्धारण गरिएको छ । निर्वाचन आयोगको तथ्याङ्कअनुसार जिल्लामा ६ हजार ४९६ मतदाता छन् ।

पुरुष तीन हजार १४८ र महिला मतदाताको सङ्ख्या तीन हजार ३४८ रहेको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस