काठमाडौँ । त्रिकोणात्मक ट्वान्टी-२० शृङ्खलामा मलेसियासँग टस हारेर नेपालले पहिलो बलिङ सुरु गरेको छ ।
नेपालका प्रशिक्षक पुबुदु दासानायकेले आफूले नयाँ खेलाडी प्रयोग गर्न चाहेको बताउँदै बुधवार (आज) टोलीमा फिर्ता बोलाइएका विकेटकिपर–ब्याटर दिलीप नाथलाई मौका दिइएको छ ।
दुवै टोलीको प्रतियोगितामा यो दोस्रो खेल हो । पहिलो खेलमा दुवैले पपुवा न्यु गिनी (पीएनजी) विरुद्ध विजय हात पारेको थियो । नेपालले पहिलो खेलमा पीएनजीलाई १५ रनले पराजित गरेको थियो । मलेसियाले पीएनजीमाथि ८ रनको ऐतिहासिक विजय हात पारेको थियो ।
नेपालले पीएनजीविरुद्ध सोमबार खेलेको टोलीबाट लोकेश बमको स्थानमा दिलीप नाथलाई खेलाएको छ ।