पोल सार्न घुस माग्ने कर्मचारी विरुद्ध अदालतमा मुद्दा दायर « प्रशासन
Logo ७ बैशाख २०८१, शुक्रबार
   

पोल सार्न घुस माग्ने कर्मचारी विरुद्ध अदालतमा मुद्दा दायर


२३ फाल्गुन २०७८, सोमबार


काठमाडौँ । उपभोक्तालाई उज्यालो प्रदान गर्ने काममा खटिएका सरकारी कर्मचारीले नै घुस मागे भन्ने सुन्दा कोही कसैलाई पनि राम्रो लाग्दैन ।

नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले कुनै पनि काममा ढिलाइ नगर्न र घुस नलिन कडाइका साथ निर्देशन गरे पनि त्यसको पालना भएको छैन ।

बरु पोल सार्ने, क्षमता वृद्धि गर्ने नाममा प्राधिकरणका कर्मचारीले घुस लिन छाडेका छैनन् भन्ने उदाहरण अख्तियार दुरुपयोग अनुसन्धान आयोगले दायर गरेको मुद्दाले देखाउँछ ।

नागरिकलाई उज्यालो दिन बसेका उपभोक्ताकै करबाट तलब भत्ता खाने प्राधिकरणका कुनै एक कर्मचारीको बदमासीका कारण अन्य कर्मचारीसमेत आहात हुनुपर्ने अवस्था सिर्जना भएको छ ।

आयोगले प्राधिकरणको ग्रिड महाशाखा पाटन ललितपुर सबस्टशेनका प्रमुख सुपरभाइजर सोमप्रसाद पहाडी विरुद्ध आज विशेष अदालतमा मुद्दा दायर गरेको छ ।

प्राधिकरणले गाडेको पोल सार्नका लागि सेवाग्राहीसँग एक लाख ४० हजार घुस माग्दै गरेको अवस्थामा आयोगको टोलीले पहाडीलाई कार्यालयबाटै पक्राउ गरेको थियो ।

जीर्ण भएको काठको पोल सार्ने प्रयोजनार्थ पहाडीले सेवाग्राहीसँग घुस मागेको आयोगको दाबी छ । आयोग प्रवक्ता श्यामप्रसाद भण्डारीका अनुसार आरोपी विरुद्ध बिगो अनुसारको कारवाहीको माग गर्दै मुद्दा दायर गरिएको हो ।

Tags :
प्रतिक्रिया दिनुहोस