काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रधानमन्त्री शेरबहादुर देउवासँगको भेटमा राखेको धारणा सार्वजनिक भएको छ ।
गएको बिहीबार राष्ट्रपति भण्डारीलाई भेट्न शीतलनिवास पुगेका प्रधानमन्त्री देउवालाई राष्ट्रपतिले स्थानीय तह निर्वाचनको सन्दर्भमा आफ्नो धारणा राख्दै ध्यानाकर्षण गराएकी थिइन् ।
सात बुँदामा समेटिएको उनको धारणामा स्थानीय तहका निर्वाचित पदाधिकारीको कार्यकाल ०७९ जेठ ५ गते समाप्त हुने, स्थानीय तह निर्वाचन ऐन, २०७३ अनुसार स्थानीय तहका पदाधिकारीको कार्यकाल समाप्त हुनु दुई महिना अगावै स्थानीय तहको निर्वाचन गरिसक्नुपर्ने, जेठ ६ गते नयाँ जनप्रतिनिधिले कार्य आरम्भ गर्नुपर्नेलगायत विषय उल्लेख छ ।

