स्थानीय तहको निर्वाचन यथाशीघ्र तोक्न सरकारलाई आयोगको आग्रह « प्रशासन
Logo ८ बैशाख २०८१, शनिबार
   

स्थानीय तहको निर्वाचन यथाशीघ्र तोक्न सरकारलाई आयोगको आग्रह


११ माघ २०७८, मंगलबार


काठमाडौँ । निर्वाचन आयोगले स्थानीय तहको निर्वाचन यथाशीघ्र तोक्न सरकारलाई आग्रह गरेको छ ।

आज (मंगलबार) विज्ञप्ति निकाल्दै आयोगले सरकारसँग छिटो मिति तोक्न आग्रह गरेको हो ।

आयोगले २०७९ वैशाख मसान्त भित्रै स्थानीय तहको निर्वाचन सम्पन्न गर्न आयोग तयारी अवस्थामा रहेको जनाएको छ ।

निर्वाचन व्यवस्थापनका लागि कानुनत:१२० दिन आवश्यक पर्ने भन्दै आयोगले भनेको छ ‘स्थानीय तहको निर्वाचनलाई लक्षित गरी मतदाता नामावली सङ्कलन, मतदान स्थलहरूको पुनरावलोकन र निर्धारण तथा निर्वाचन सम्पन्न गर्न आवश्यक अन्य पूर्व तयारीका कार्यहरु निरन्तर गरिरहेको हुँदा आयोगले प्रस्ताव गरेअनुसार निर्वाचनको मिति तोकिएमा २०७९ वैशाख मसान्त भित्रै स्थानीय तहको निर्वाचन सम्पन्न गर्न आयोग तयारी अवस्थामा रहेको छ ।’

निर्वाचनको मिति तोक्न ढिलाइ गर्दा कठिनाइ झन् बढ्दै जाने भन्दै आयोगले आयोगको परामर्शमा यथाशीघ्र मिति तोक्न आग्रह गरेको हो ।

आयोगले भनेको छ, ‘वर्तमान संवैधानिक एवम् कानुनी व्यवस्थाको आधारमा स्थानीय तहको निर्वाचनको मिति तोक्ने काम जति विलम्ब हुँदै जान्छ, त्यति नै निर्वाचन व्यवस्थापनको कार्य व्यवहारिक एवम् प्राविधिक कारणले जटिल बन्दै जान्छ भन्ने तथ्यलाई दृष्टिगत गरी स्थानीय तह निर्वाचन ऐन, २०७३ को दफा ४ को उपदफा (१) बमोजिम आयोगको परामर्शमा आगामी स्थानीय तहको निर्वाचनको मिति यथाशीघ्र तोक्न नेपाल सरकार समक्ष निर्वाचन आयोग आग्रह गर्दछ ।’

आयोगले स्थानीय तहका जनप्रतिनिधिको अवधि ५ जेठमा सकिने भन्दै त्यसअघि नै चुनाव गर्नुपर्ने बताएको छ। आयोगले वैशाख १४ र २२ मा चुनाव गर्न सरकारलाई सिफारिस गरेको थियो ।

Tags :
प्रतिक्रिया दिनुहोस