कर्णाली प्रदेश सरकारले छिट्टै पूर्णता पाउँछ : मुख्यमन्त्री शाही « प्रशासन
Logo १६ चैत्र २०८०, शुक्रबार
   

कर्णाली प्रदेश सरकारले छिट्टै पूर्णता पाउँछ : मुख्यमन्त्री शाही


२५ पुस २०७८, आइतबार


सल्यान । कर्णाली प्रदेशका मुख्यमन्त्री जीवनबहादुर शाहीले प्रदेश सरकारले छिट्टै पूर्णता पाउने बताएका छन् ।

सबै पार्टी अधिवेशनमा केन्द्रित हुँदा सरकार विस्तारमा केही ढिला भएको स्वीकार गर्दै उनले अब छिट्टै सरकार विस्तार हुने बताएका हुन् ।

नेपाल प्रेस युनियन सल्यानले खलङ्गामा गरेको पत्रकार सम्मेलनमा मन्त्रिपरिषद् विस्तारमा ढिलाइ भए पनि सरकारको काम प्रभावित नभएको बताए ।

‘राजनीतिक दलका चुनावी कार्यक्रमले सरकार विस्तारमा ढिला भएको छ’, उनले भने, ‘सरकार विस्तार हुन नसके पनि सरकारको काम नियमित भइराखेको छ ।’

मुख्यमन्त्री शाहीले आफ्नो नेतृत्वको सरकार क्रमभङ्गको सरकार नभई गठबन्धनको सरकार भएकाले विगतका सरकारले गरेका राम्रा कामलाई निरन्तरता दिने बताए । ‘यो गठबन्धनको सरकार हो । राम्रा कामलाई निरन्तरता दिन्छौँ, नराम्रा काम सच्याएर अघि बढ्छौँ’, उनले भने, ‘जनताको जनजीविकालाई हामीले पहिलो प्राथमिकतामा राखेका छौँ ।’

शाहीले कर्मचारीलाई गुणस्तरीय, पारदर्शी कार्यसम्पादन गर्न निर्देशन दिए । सल्यानस्थित सङ्घ प्रदेश र स्थानीय तहका कर्मचारीलाई विकास बजेट न्यून खर्च भएको भन्दै समयमै छिटो छरितो र गुणस्तरीय कार्य सम्पादन गर्न निर्देशन दिएका हुन् ।

कर्णाली प्रदेशका मुख्य सचिव राजकुमार श्रेष्ठले कर्मचारीले आफ्नो मात्रै नभएर जनताको चाहनालाई ध्यान दिनुपर्ने बताए । सङ्घीयताको पहिलो अभ्यास भइरहेकाले सहकार्य समन्वयबाट कार्य सम्पादन गर्नुपर्ने दायित्व कर्मचारीमा रहेको उनको भनाइ छ ।

Tags :
प्रतिक्रिया दिनुहोस