एमाले गोरखाको अध्यक्षमा प्रेम गुरुङ « प्रशासन
Logo १५ चैत्र २०८०, बिहिबार
   

एमाले गोरखाको अध्यक्षमा प्रेम गुरुङ


२५ पुस २०७८, आइतबार


गोरखा । नेकपा (एमाले) गोरखाको अध्यक्षमा प्रेम गुरुङ सर्वसम्मत रुपमा चयन भएका छन् ।

गत शुक्रबारबाट सुरु भएको जिल्लाको सातौँ अधिवेशनमा अध्यक्ष, उपाध्यक्ष र सचिव पदमा एकल उम्मेदवारी परेपछि सर्वसम्मत भएको हो ।

अध्यक्षमा गुरुङ, उपाध्यक्षमा कृष्णबहादुर नेपाली र सचिवमा काजिराम रोकाको एकल उम्मेदवारी परेपछि उनीहरूको चयन निर्विरोध रुपमा भएको हो । गुरुङ दोस्रो कार्यकालका लागि अध्यक्षमा निर्वाचित भएका हुन् । तीन पदाधिकारीसहित ६० सदस्य सर्वसम्मत भएको छ ।

सर्वसम्मत हुन नसकेका पद निर्वाचनबाट टुङ्ग्याउन आइतबारबाट मतदान सुरु भएको छ । दुई उपसचिवका लागि तीन जनाको उम्मेदवारी परेको छ । उपसचिवमा विशाल थापा, सुरेशबाबु श्रेष्ठ र राजन गुरुङले उम्मेदवारी दिएका छन् ।

त्यस्तै खुल्ला पुरुषतर्फ २० पदका लागि २७ जना र समावेशी उत्पीडिततर्फ तीन जनाका लागि ११ जना र जनजाति खुल्लातर्फ पाँच पदका लागि दश जनाबीच चुनावी प्रतिस्पर्धा भएको छ ।

अधिवेशनबाट एक सय पाँच सदस्यीय जिल्ला कमिटी निर्वाचित हुने अधिवेशन अध्यक्ष मण्डलकी अध्यक्ष तथा केन्द्रीय सदस्य सम्झना देवकोटाले बताइन् ।

सर्वसम्मत नभएका पदका लागि केहिबेर अघिबाट मतदान सुरु भएको उनले बताइन् । मतदानमा पाँच सय ९८ प्रतिनिधिले मतदान गर्नेछन् ।

Tags :
प्रतिक्रिया दिनुहोस