चिसोका कारण सिरहामा वृद्धाको मृत्यु « प्रशासन
Logo ८ बैशाख २०८१, शनिबार
   

चिसोका कारण सिरहामा वृद्धाको मृत्यु


२२ पुस २०७८, बिहिबार


जनकपुर । विगत केही दिनयता बढेको अत्यधिक चिसो र शीतलहरका कारण सिरहामा एक वृद्धाको कठ्याङ्ग्रिएर मृत्यु भएको छ ।

बुधबार साँझ चिसोले कठ्याङ्ग्रिएर सिरहाको कल्याणपुर नगरपालिका–१ निवासी ६५ वर्षीया पल्टी सदाको मृत्यु भएको हो ।

घरमा चिसोले कठ्याङ्ग्रिएर बेहोस भएकी सदालाई उपचारका लागि अस्पताल लैजाने तयारी भइरहेकै बेला मृत्यु भएको कल्याणपुर–१ का वडाध्यक्ष राजाराम कामतीले जानकारी दिए ।

यसअघि गत मङ्गलबार चिसोका कारण कठ्याङ्ग्रिएर धनुषाको क्षिरेश्वरनाथ नगरपालिका–५ निवासी ६० वर्षीया समुद्रीदेवी यादव र सप्तरीको महदेवा गाउँपालिका–४ निवासी ६५ वर्षीय देवनारायण ठाकुरको मृत्यु भएको थियो ।

अत्यधिक चिसो र शीतलहरले जनजीवन कष्टकर बन्दै गएपछि धनुषाको जनकपुरधाम उपमहानगरपालिकासहित पाँच स्थानीय तहले विद्यालयमा बिदा दिएका छन् ।

सो उपमहानगरपालिकासहित धनुषाको क्षिरेश्वरनाथ नगरपालिका, नगराइन नगरपालिका, मुखियापट्टी गाउँपालिका र लक्ष्मीनियाँ गाउँपालिकाले सूचना जारी गरी विद्यालयमा बिदा दिएका हुन् ।

चिसोका कारण निमोनिया, कोल्डडायरीया, दम, रुघाखोकी र स्वासप्रस्वाससम्बन्धी समस्या लिएर बिरामी आउन थालेका छन् । विशेष गरी ग्रामीण क्षेत्रका विपन्न बस्तीमा चिसोले बढी प्रभाव पारेको देखिएको छ । टोलटोलमा दाउरा बालेर आगो ताप्ने क्रम बढेको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस