ओमिक्रोन फैलिनसक्ने खतराप्रति सजग र सचेत हुनुपर्छः मुख्यमन्त्री राई « प्रशासन
Logo १६ चैत्र २०८०, शुक्रबार
   

ओमिक्रोन फैलिनसक्ने खतराप्रति सजग र सचेत हुनुपर्छः मुख्यमन्त्री राई


२२ पुस २०७८, बिहिबार


मोरङ । प्रदेश नं १ का मुख्यमन्त्री राजेन्द्रकुमार राईले कोरोनाको तेस्रो लहर ‘ओमिक्रोन’ फैलिनसक्ने खतरालाई नियन्त्रण र रोकथामका लागि सजग एवं सचेत रहन निर्देशन दिएका छन् ।

प्रदेश सरकारद्वारा आयोजित कोभिड–१९ को तेस्रो लहरको वृद्धि, रोकथाम, नियन्त्रण र सम्पूर्ण व्यवस्थापन सम्बन्धमा आयोजित छलफल एवं सुझाव सङ्कलन कार्यक्रममा उनले कोरोना तेस्रो लहरलाई नियन्त्रण गर्न बेलैमा तयारीका लागि सर्तक रही स्वास्थ्य सम्बन्धमा आवश्यक तयारी गर्न सम्बन्धित निकायलाई निर्देशनसमेत दिए ।

उनले विश्वलगायत छिमेकी मुलुकमा ओमिक्रोन तीव्र गतिमा फैलिरहेकाले खुला सीमाको आवश्यक अनुगमन गर्नुका साथै स्वास्थ्य जाँचलाई प्रभावकारीरूपमा कार्यान्वयन गर्नुपर्नेमा जोड दिए ।

मुख्यमन्त्री राईले प्रदेशमा कोरोना खोपलाई तीव्रता दिनुपर्नेमा जोड दिँदै जनचेतना गराई स्वास्थ्य सुरक्षा, सामाजिक दूरी कायम गर्नुपर्ने आवश्यकता औँल्याए । उनले सम्बन्धित मन्त्रालयलाई कोरोना नियन्त्रणका लागि आवश्यक योजना बनाउन निर्देशन दिँदै यसको रोकथाम नियन्त्रणमा बजेटको कुनै कमी हुन नदिने स्पष्ट पारे ।

सामाजिक विकासमन्त्री जयराम यादवले अन्य हिमाली तथा पहाडी जिल्लाको तुलनामा तराईका तीन जिल्लामा कोरोना खोप लगाउनेको सङ्ख्या कम देखिएकाले राजनीतिक दलका साथै जिम्मेवार निकायले यसलाई तीव्रता दिनुपर्ने बताए ।

उनले सीमा क्षेत्रमा आम जनताको आवागमन बन्द गरी जोखिम नियन्त्रण गर्नुपर्नेमा जोड दिए । विराटनगर महानगरपालिकाका प्रमुख भीम पराजुलीले मास्क अनिवार्य गरी कोरोना नियन्त्रण र रोकथामका लागि विगतको कमीकमजोरी सच्याएर सरकारी तथा निजी अस्पतालका शय्या तयारी अवस्थामा राख्नुपर्ने बताए ।

प्रदेशका प्रमुख सचिव डा। रामप्रसाद घिमिरेले खोपलाई प्राथमिकतामा राखी जोखिम क्षेत्रको पहिचान गरी सबै निकायबीच समन्वय कायम गरी यसको रोकथाम र नियन्त्रणमा कार्य गर्नुपर्नेमा जोड दिए ।

आन्तरिक मामिला तथा कानून मन्त्रालयका सचिव कालीप्रसाद पराजुली तथा सामाजिक विकास मन्त्रालयका सचिव कमल भट्टराईले प्रदेशमा कोशी अस्पताल कोभिड–१९ उपचार केन्द्रमा सम्पूर्ण सुविधासहित २५० शय्या तयारी अवस्थामा रहेको जानकारी दिए ।

छलफलमा नेपाली सेना, सशस्त्र प्रहरी, नेपाली प्रहरीका प्रदेश प्रमुख, विश्वस्वास्थ्य सङ्गठनका प्रतिनिधिलगायतले स्वास्थ्य सुरक्षामा आवश्यक कडाइ गर्नुपर्नेमा जोड दिएका थिए । प्रदेशमा अहिलेसम्म २३ लाख ४४ हजार खोप लगाइएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस