निमित्त वन निर्देशक हेम राज विष्ट विरुद्ध पौने सात करोडको भ्रष्टाचार मुद्दा « प्रशासन
Logo २६ बैशाख २०८१, बुधबार
   

निमित्त वन निर्देशक हेम राज विष्ट विरुद्ध पौने सात करोडको भ्रष्टाचार मुद्दा


२१ पुस २०७८, बुधबार


अख्तियार

काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सुदूरपश्चिम प्रदेश सरकार, वन निर्देशनालय, धनगढी, कैलालीका निमित्त वन निर्देशक हेम राज विष्ट विरुद्ध भ्रष्टाचार गरेर अकुत सम्पत्ति आर्जन गरेको अभियोगमा विशेष अदालतमा मुद्दा दायर गरेको छ । उनीमाथि ६ करोड ८७ लाख ५७ हजार ८० रुपैयाँ भ्रष्टाचारको अभियोग लगाइएको छ ।

विष्टले गैर कानुनी सम्पत्ति आर्जन गरी भ्रष्टाचार गरेको भन्ने उजुरीको आधारमा अनुसन्धान हुँदा छ करोड सतासी लाख सन्ताउन्न हजार असी रूपैंया साठी पैसाको स्रोत खुल्न नआएको आयोगले जनाएको छ ।  विष्ट सार्वजनिक पदमा बहाल रहँदा २०५५।०१।२७ देखि २०७७।०७।१७ सम्ममा सिर्जित सम्पत्ति एवं खर्च तथा लगानीहरूमा गरिएको कुल खर्च र सोही अवधिको आयव्ययको विवरण अनुसार स्रोत खुल्न आएको उनको वैध आय रु १७,३७,१२,६२९।३८ को अनुपातमा सोही अवधिमा उनले सिर्जना गरेका सम्पत्ति एवं खर्च तथा लगानीहरू रु २४,२४,६९,७०९।९८ खर्च तथा लगानी गरेको देखिँदा आयभन्दा बढी देखिएको रु ६,८७,५७,०८०।६० बराबरको सम्पत्ति गैर कानुनी रूपमा आर्जन गरेको पुष्टि हुन आएको आयोगले जनाएको छ । 

विष्ट २०५५ वैशाख २७ गते वन सेवा अन्तर्गत सहायक वन अधिकृत राजपत्राङ्कित तृतीय श्रेणी प्राविधिक पदबाट सार्वजनिक सेवामा प्रवेश गरी २०६८ चैत्र ६ मा जिल्ला वन अधिकृत राजपत्राङ्कित द्वितीय श्रेणी बढुवा भई हाल सुदूरपश्चिम प्रदेश सरकार, वन निर्देशनालय, धनगढी, कैलालीमा निमित्त वन निर्देशक पदमा कार्यरत छन् । 

विष्टकी श्रीमती रूबी जी.सी. (विष्ट)लाई पनि प्रतिवादी बनाइएको छ। अनुसन्धानका क्रममा रूबीको नाममा घर जग्गा र बैङ्क खाताहरूमा मौज्दात देखिएकाले भ्रष्टाचार निवारण ऐन अनुसार अकुत सम्पत्ति जफत प्रयोजनका लागि मुद्दा दायर गरिएको आयोगका प्रवक्ता नारायणप्रसाद रिसालले बताएका छन्।

Tags :
प्रतिक्रिया दिनुहोस